मल उपलब्ध गराउन माओवादी केन्द्रले बुझायो ६ बुँदे ज्ञापनपत्र

नेपालगन्ज । धान रोपाइँको मौसमी चटारो छ तर बाँकेका किसानको खेतमा मल छैन । यस्तो अवस्थामा नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका समितिले किसानको पक्षमा कडा आवाज उठाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

पार्टीका अध्यक्ष प्रेम शाह र सचिव धर्मराज न्यौपानेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत बुझाइएको उक्त ज्ञापनपत्रमा रासायनिक मलको चरम अभावले कृषक समुदायको पीडा झनै गहिरिँदै गएको भन्दै तत्काल समाधानका लागि सरकारलाई गम्भीर आग्रह गरिएको छ ।

धान रोपाइँको समयमा मल अभाव, किसान रित्तो हात ज्ञापनपत्रमा भनिएको छ-“एकातिर सिँचाइको अभाव, अर्कोतिर युरिया, डिएपी र पोटास जस्ता आवश्यक मल नपाउँदा धान उत्पादनमा भारी गिरावट आउने, लागत बढ्ने र किसानको जीवनस्तरमात्र होइन, देशको कुल ग्राहस्थ उत्पादन (GDP) नै संकटमा पर्ने स्थिति देखिएको छ ।”

कालोबजारी, ढिला प्रक्रिया र पारदर्शिताको कमीप्रति गम्भीर आपत्ति मल वितरणमा देखिएको कालोबजारी, सरकारी खरिद प्रक्रियाको ढिलासुस्ती, अनुदानको मल वितरणमा पारदर्शिताको अभाव लगायत विषयप्रति माओवादी केन्द्रले कडा आपत्ति जनाउँदै निम्न ६ सूत्रीय मागहरु अघि सारेको छ ।

जस अन्तर्गत तत्काल मल आपूर्ति सुनिश्चित गर्नुपर्ने, मल आपूर्तिका लागि दीर्घकालीन रणनीतिक योजना निर्माण, वितरण प्रणालीमा पारदर्शिता र प्रभावकारिता कायम राख्दै स्थानीय तहमा अनुगमन समिति गठन गर्नुपर्ने, कालोबजारी अन्त्य गरियोस् र दोषीमाथि कडा कारबाही गरिनुपर्ने, प्राङ्गारिक र जैविक मल प्रवद्र्धन गर्दै त्यसमा किसानलाई आकर्षण गरिने नीति निर्माण गरिनुपर्ने, मल खरिद प्रक्रिया समयमै सम्पन्न गरी मल किसानको वारीसम्म पु¥याउने अवस्था बनाउनुपर्ने माग गरिएको हो ।

आन्दोलनको चेतावनी
पार्टीले स्पष्ट शब्दमा चेतावनी दिएको छ-“यदि यी मागहरू यथाशीघ्र सम्बोधन भएन भने माओवादी केन्द्र मौन बस्ने छैन । किसानलाई संगठित गर्दै आवश्यक भए कठोर आन्दोलनात्मक कार्यक्रम अगाडि बढाउने छ ।” ज्ञापनपत्रको प्रतिलिपि कृषि कम्पनी लिमिटेड नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका, तथा जिल्ला सहकारी संघ बाँकेलाई समेत बुझाएको छ ।

Previous articleविश्व किर्तिमान बनाएका नेपालगन्जका बाडिया काठमाडौंमा सम्मानित
Next articleमिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here