राप्ती सोनारीको नन्कौपुरमा ग्रामीण महिला लक्षित स्वास्थ्य शिविर

राप्ती सोनारी । नेपाली काँग्रेसका संस्थापक नेता, बहुदलीय लोकतान्त्रिक आन्दोलनका अगुवा र पूर्वप्रधानमन्त्री स्वर्गीय बिश्वेश्वरप्रसाद (बी.पी.) कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७, नन्कौपुरमा एक दिने महिला लक्षित निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आउनुभएकी नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य तथा पार्टीको प्रदेश स्वास्थ्य विभाग संयोजक अञ्जना पाण्डेको प्रमुख उपस्थितिमा आयोजित शिविरमा १०० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । मधेशी र थारु समुदायको बाक्लो बसोबास रहेको यस वडामा महिलाहरूको प्रजनन तथा सामान्य स्वास्थ्यप्रति पहुँच र चेतना न्यून देखिएपछि लक्षित रूपमा महिला केन्द्रित शिविर सञ्चालन गरिएको हो ।

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ बाँकेले सो शिविरको आयोजना गरेको थियो भने नेपालगन्जस्थित एचसीआरसी अस्पतालले प्राविधिक सहयोग पु¥याएको थियो । राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा चिकित्सक डा. मञ्जु वि.सी.को नेतृत्वमा महिला विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले स्वास्थ्य शिविरको औपचारिक उद्घाटन गर्दै महिलाहरू अझैपनि घरभित्रै आफ्ना पीडा लुकाएर बस्नु परेको अवस्था रहेको बताउनुभयो । उहाँले यो अवस्था र प्रवृत्तिलाई बदल्न स्वास्थ्य पहुँचको सहजता, सामाजिक चेतना र विश्वास निर्माण गर्न अत्यन्त आवश्यक बताउनुभयो ।

उहाँका अनुसार, नेपालका ग्रामीण क्षेत्रहरूमा महिलाहरू आफ्ना स्वास्थ्य समस्या समयमै नखुलाउने, अस्पताल जान हिच्किचाउने र लाज मान्ने प्रवृत्तिका कारण धेरै महिलाहरू जटिल अवस्थामा पुगेपछि मात्र उपचारमा पुग्ने गरेका छन् ।् ‘यस्ता शिविरले महिलामा आत्मविश्वास जगाउँछ, आफ्ना समस्या खुलेर भन्न उत्प्रेरित गर्छन् ।’ उहाँले भन्नुभयो ।

पाण्डेले बीपीको योगदानको चर्चा गर्दै कोइरालाको दर्शनमा महिला सशक्तीकरणको विशेष महत्व रहेको बताउनुभयो । उहाँले राजनीतिक मात्र नभएर, सामाजिक परिवर्तनका लागि पनि महिलाको सहभागिता आवश्यक महसुस गर्नुभएको उल्लेख गर्नुभयो । ‘उहाँको स्मृतिमा महिलामैत्री स्वास्थ्य शिविर गर्नु भनेको उहाँको विचारको सम्मान गर्नु हो ।’ उहाँले भन्नुभयो ।

स्वास्थ्य परीक्षणको क्रममा सहभागी १०० जना महिलामध्ये २५ जना महिलामा पाठेघर खस्ने, सेतो पानी बग्ने, बाँझोपन, महिनावारीसम्बन्धी अनियमितता लगायत समस्या देखिएको चिकित्सक डा. वि.सी.ले जानकारी दिनुभयो । ‘दुई जना महिलामा पाठेघरको मुखको क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।,’ उहाँले भन्नुभयो, ‘यी दुवैलाई थप परीक्षण र उपचारको लागि एचसीआरसी अस्पतालमा ५० प्रतिशत छुटमा सेवा दिने व्यवस्था गरिएको छ ।’

डा. वि.सीका अनुसार, प्रजनन स्वास्थ्य समस्याहरू समयमै उपचार नभएमा जटिल अवस्थामा पुग्ने सम्भावना रहन्छ । ग्रामीण क्षेत्रका महिलाहरूले प्रायः लाज, आर्थिक अभाव, वा जानकारीको कमीका कारण अस्पताल जान नचाहने भएकाले यस्ता शिविर अत्यन्त उपयोगी हुने बताउनुभयो । धेरै महिलाहरूले आफ्ना समस्या पहिलोपटक खुला रूपमा चिकित्सकसँग व्यक्त गर्न पाउँदा आत्मसन्तुष्ट भएको प्रतिक्रिया दिएका थिए ।

क्षेत्रीय सभापति पोषण के.सी.ले आगामी दिनहरूमा पनि यस्ता शिविरहरू अन्य ग्रामीण वडामा सञ्चालन गर्ने योजना रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘शरीरको समस्या लुकाएर बस्नु समाधान होइन । हामी समुदायमा पुगेर महिलासँग संवाद गर्दै उनीहरूको स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्यलगायत विविध पक्षमा सशक्तीकरणका कार्यक्रम ल्याउनेछौं ।’ बी.पी कोइरालाको स्मृति दिवसमा यस्तो अर्थपूर्ण सामाजिक अभियान सञ्चालन गर्न पाउँदा गर्व महसुस भएको सभापति के.सी.ले बताउनुभयो ।

‘बी.पी. कोइरालाले महिला सशक्तीकरणमा विशेष जोड दिनुभएको थियो । उहाँको स्मृतिमा हामीले आज थारु र मधेशी समुदायका महिलालाई लक्षित स्वास्थ्य सेवा दिन सकेका छौं ।,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा पहुँच अझै कमजोर रहेको क्षेत्र भएकाले यस्तो शिविरले धेरै महिलाहरूलाई राहत पु¥याएको छ ।,’ उहाँले बी.पी.को ‘सामाजिक न्याय’को दृष्टिकोण अनुसार नेपाली काँग्रेसले राजनीतिक मात्रै नभई सामाजिक रूपमा पनि अग्रसर भई जनताको जीवनस्तर सुधारतर्फ काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेशका सल्लाहाकार हुर्मत न्यौपानेले विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा गरिने यस्ता शिविरले स्वास्थ्यमा पहुँच नभएका महिलाहरुलाई फाइदा पुग्ने बताउनुभयो । प्रदेश ‘क’ का सभापति अमर बहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य देवबहादुर खाँड, प्रदेश ‘ख’ का सभापति बलराम शर्मा, राप्ती सोनारी गाउँपालिकाका सभापति भीम राना, राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुलगायतको उपस्थिति रहेको थियो । स्थानीय समुदायको उत्साहजनक सहभागिता र गम्भीर स्वास्थ्य समस्याहरूको पहिचानले शिविरलाई अत्यन्त प्रभावकारी बनाएको सहभागीहरूमध्ये धेरैले बताएका छन् । आयोजक पक्षले पनि आगामी दिनहरूमा अन्य वडाहरूमा यस्तै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

Previous articleट्राफिक सचेतना प्रवाह गर्न जुटे मंगल माविका विद्यार्थी
Next articleविश्व किर्तिमान बनाएका नेपालगन्जका बाडिया काठमाडौंमा सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here