
नेपालगन्ज । बाँकेमा चोरहरुको बिगबिगी बढेको छ । जिल्लाका विभिन्न गाउँहरुमा चोरहरुको आतंक बढेको छ । गाउँ गाउँमा दैनिक चोरीका घट्ना घटेका छन् ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ को बेलभार, नेवाजी गाउँ, वडा नम्बर १ को बढैया, नेपापलगन्ज उपमहानरपालिका वडा नम्बर १७ को नन्दई गाउँलगायतका गाउँमा चोरी भएका छन् । यी गाउँहरुमा दैनिक हप्तादिनको फरकमा चोरीका घट्ना घट्ने गरेका छन् । दुई साताअघि बेलभार गाउँका आधा दर्जन घरमा चोरी भएको छ ।
यहाँ १५ हजार रुपैयाँदेखि १५ लाख रुपैयाँ बराबरको चोरी भएको स्थानीयले बताएका छन् । बेलभारमा सक्टु काँदुको घरमा दुई साता अघि भएको घट्नामा १५ लाख रुपैया बराबरको धनमाल चोरहरुले लुटेर लगेका छन् । उनले आमाको उपचारका लागि बैंकबाट ऋण ल्याएको रकमसहित घरमा भएको गरगहनासमेत चोरहरुले लुटेर लगेको जानकी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले बताउनुभयो ।
गुप्ताका अनुसार काँदुको घरमा घरको भित्ता फोडेर (सेन्ध लगाएको) घरबाट सामान निकालेका थिए । ‘काँदुको घर गाउँभन्दा अलिकति बाहिरतिर पर्छ,’ वडाअध्यक्ष गुप्ताले भन्नुभयो, ‘माटोको गारो र इट्टाले घरको भित्ता थियो । घरको पछाडीबाट त्यही भित्ता फोडेर चोरहरु घरमा छिरेको देखिएको छ । काँदु परिवार चोरी भएको कोठाको अगाडीको कोठमा सुतेकोले सेन्ध लाग्दा आफुहरुले थाहा नै पाएनौं, भनेका छन् ।’
काँदु परिवारका सदस्य बिदेशबाट कमाएर ल्याएको पैसाबाट जोडेको गरगहना र घरमा रहेको पैसा तथा बैंकबाट ल्याएको पैसामध्येको पैसा चोरी भएको पिडितले बताए । पिडितका अनुसार घरबाट दुई लाख ८० हजार नगद र गरगहनालगायत सामान गरेर १५ लाख रुपैयाँ बराबरको चोरी भएको छ । घट्नाको बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले स्थलगत अवलोकन गर्नुभएको थियो । सो क्रममा उहाँले प्रहरी निगरानी बढाउने स्थानीयलाई आश्वासन दिनुभएको स्थानीयले बताए ।
यस्तै सोही गाउँको राजेन्द्र पासी, मतई पासी, कामता पासीको घरमासमेत चोरी भएको छ । काँदुको घरमा चोरी भएको दिन नै राजेन्द्रको घरबाट दुई लाख ५० हजार र सुनका गहना, मतईको घरमा केही नपाएपछि उहाँले लगाएको सर्टमा राखेको १५ हजार र कामताका घरमा पनि केही नपाएपछि बिदेशबाट ल्याएको राम्रो खालको टर्च लाईट चोरले चोरेर लगेका छन् । मतईले पाँडा बेचेर ल्याएको पैसा सर्टको गोजामै राखेको र सुत्दा सर्ट निकालेर झुण्ड्याएका थिए । राती बरण्डामा सुतेको बेला उक्त सर्टबाट पैसा चोरेर लगेको पिडितले बताए ।
यस्तै सोही वडाको नेवाजी गाउँमा चोर आएको स्थानीयले बताए । यस्तै बढैया गाउँका हसिम हलवाईको घरमा चोरीका प्रयास भएको छ । हलवाई परिवार राती सुतेको समय घरमा रहेको टिनको छानो निकाल्ने प्रयास भएको थियो । छानो निकाल्ने क्रममा हलवाई परिवार उठेपछि चोरहरु भागेका थिए । यसैगरी एक साता अघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ को नन्दई गाउँका एक स्थानीयको घरमा सेन्ध लागेको छ ।
परिवारका सदस्यहरु राती सुतेको समयमा चोरहरुले घरपछाडीबाट भित्ता फोडेर घरमा बसेका थिए । घरभित्र चोर पसेको बेला घरमा रहेको बाख्रा कराउन थालेपछि घरका व्यक्ति जाग्दा चोरहर भागेकोको पिडितले बताएका छन् । यसै वडाको परसपुर गाउँमा दुई जना स्थानीयको घरमा पनि चोरी भएको छ । यस्तै शुक्रबार राती नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ को पुरैना गाउँमा चोरहरु आएको स्थानयको भनाई छ । राती खेतमा लस्करै टर्च लगाएर मानिसहरु हिडेको देखेपछि स्थानीयहरुले होहल्ला गर्दा खेतमा देखिएकाहरु भागेका थिए ।
यस्तै बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ को बेतहनी गाउँ आसपास क्षेत्रमा चोरीको प्रयास भएको जानकारीमा आएको छ भने बाँकेको कोहलपुरमा समेत चोरी भएको घट्ना सार्वजनिक भएको छ । कोहलपुरको वडा नम्बर ५ को प्रगतिनगरस्थित बासुदेव भण्डारीको घरमा भदौ २ गते चोरी भएको छ । भण्डारीको घरबाट ६ तोला सुनका गरगहना, भाँडावर्तन, लत्ताकपडा र पसलको सामान चोरी भएको पिडितले बताउनुभएको छ ।
गाउँ गाउँमा युवाहरु जाग्रम बस्दै
जिल्लाका विभिन्न गाउँहरुमा चोरीको घट्ना सार्वजनिक हुन थालेपछि केही गाउँमा युवाहरुले रात्री गस्ती (जाग्रम) सुरु गरेका छन् । चोरीको घट्नाहरु सुनिन थालेपछि स्थानीयहरु चोरबिरुद्ध गस्ती गर्न थालिएको बताए । परसपुरका स्थानीय युवा शुसिल बर्माले चोरीका घट्ना बढेपछि गाउँमा युवाहरु जाग्रम बसेको बताउनुभयो ।
‘दुई हप्तादेखि परसपुरका युवाहरु रात्री जाग्रम बसिरहेका छौं,’ बर्माले भन्नुभयो, ‘दुई वटा टोलमा १५÷१५ जनाको टोली बनाएर रात्री गस्ती गर्ने गरेका हौं ।’ एक दई पटक चोरहरु आशंका भएको पनि पाइएको बर्माले बताउनुभयो । विभिन्न कामको बहानामा दिनभरी गाउँ गाउँमा आउने व्यक्तिहरु नै रातीमा चोरी गर्न आउने गरेको स्थानीयले आशंका गरेका छन् । स्थानीय भन्छन्, ‘दिनभरी विभिन्न कामहरु गर्न गाउँ गाउँमा पुग्छन, त्यस क्रममा त्यहाँको बस्तुस्थितिका बारेमा बुझ्छन् र राती चोरी गर्छन ।’
गाउँ गाउँमा तरकारी, फलफुल, कवाडलगायतको कामको बहानामा पुग्ने व्यक्तिहरु नै कसको घरको अवस्था के छ, कहाँबाट चोरी गर्ने भन्ने कुराहरुको मुवाइना (घरको सबै कुरा हेर्ने, बुझ्ने काम) गर्ने गरेको र राती चोरहरुले चोरी गर्ने गरेको स्थानीय दाबी गरिरहेका छन ।
प्रहरी भन्छ फाट्टफुट्ट चोरी
बाँकेमा करिब एक दर्जन ठाउँमा चोरी भएको भएपनि प्रहरीले फाट्टफुट्ट चोरी भएको बताउँछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक दिपक पातलीले फाट्टफुट्ट चोरीको घट्ना भएको जानकारीमा आएको बताउनुभयो ।
जिल्लामा लाखौं रुपैयाका चोरी भएको भएपनि प्रहरीले सो घट्नाहरुलाई सामान्य रुपमा लिएको देखिएको छ । स्थानीय भन्छन्, ‘प्रहरी आउँछन् तर मुख्य बाटोमा सर्रर आएर जान्छन् ।’ प्रहरी घट्नामा आएपनि पछि निगरानी नभएको स्थानीय बताउँछन् । यता प्रहरी प्रवक्ता पातली भन्नुहुन्छ, ‘चोरी भएको केही निवेदनहरु आएका छन्, प्रहरी परिचालन गरिएको छ । तर सबैतिर भ्याउन नसकेको अवस्था छ ।





