
नेपालगन्ज । प्रत्येक वर्ष नेपालगन्जमा हुँदै आएको रामलीला स्थगन भएपनि धार्मिक कार्यक्रम संचालन गरिएको छ । श्री रामलीला संचालक समिति नेपालगन्जले एक सूचना जारी गर्दै विभिन्न धार्मिक कार्यक्रम आयोजना गरेको जनाएको छ ।
धार्मिक कार्यक्रम अनुसार ११ गते हनुमान चालीसा पाठसहित भजन किर्तन बेलुकी ६ बजे, १२ गते आइतबारदेखि मंगलबारसम्म डिजिटल प्रविधिबाट ठुलो पर्दामा रामलीला चलचित्र प्रदर्शन राती ८ बजे, १४ गते अखण्ड रामायण पाठ बिहान ९ बजे प्रारम्भ, १६ गते अखण्ड रामायण पाठ समापन बिहान ११ बजे, १६ गतेनै शोभा यात्रा तथा नगर परिक्रमा दिउँसो १ बजेदेखि र १६ गते नै लंका दहन तथा रावण बध मेला संचालन गरिने भएको छ ।
समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाले यी सबै कार्यक्रम रामलीला मैदान बाँके बगियामा आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा बढीभन्दा बढी भक्तजनको उपस्थितिका लागि हार्दिक अनुरोधसमेत गरिएको छ ।
बाँकेमा १५७ वर्षदेखि हुँदै आएको ऐतिहासिक रामलिला यसवर्ष स्थगन गरिएको छ । घटस्थापनाका दिन देखि सुरु हुने रामलिलामा स्थानीयको सहभागिता रहने र भीडभाड हुने भएकाले सुरक्षाको कारण देखाउँदै स्थगन गर्न गरिएको समितिको भनाई छ ।





