
नेपालगन्ज । विवादित बन्नुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको सरुवा भएको छ । जिल्ला बस्दा विभिन्न घट्नामा विवादित बन्नुभएका जोशीको उदयपुर सरुवा भएको हो ।
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मन्त्रालयका सहसचिवसहित सरुवा गरेको ३६ जनाको सरुवा नामावलीमा जोशीकोसमेत नाम छ । करिब ६ महिनाअघि बाँकेको प्रजिअ भएर आएदेखि पटक÷पटक विवादित र आलोचित बन्नुभएका जोशी पछिल्लो समय जेनजी आन्दोलनपछि संचारकर्मी, अधिकारकर्मी र नागरिककर्मीमाथि धावा बोल्न थाल्नुभएको थियो ।
सरकारी कर्मचारीलाई कब्जामा राख्न खोज्ने, अधिकारकर्मी, पत्रकारलाई सूचना सम्प्रेषण र प्रवाहमासमेत कन्जुस्याइँ गर्दै उल्टो थुनिदिने, कारवाही गर्ने लगाएका धम्की दिने गर्नुभएको थियो । जेनजी आन्दोलनका बेला बाँके प्रशासनमा भएको क्षतिको विवरण माग गर्दा उहाँले केही पत्रकारसहित इन्सेक प्रतिनिधीलाई समेत सूचना दिनुको साटो थुनिदिने, कारवाही धम्कीसहित अमर्यादित रूपमा दुव्र्यवहार गर्नुभयो ।
जेनजी आन्दोलनको केही दिनपछि समाचार संकलन गर्न कार्यालय पुगेका गोरखापत्रकर्मी गोविन्द शर्मामाथि दुव्र्यवहार गर्नुभएको थियो । प्रजिअको रवैया राम्रो नभएपछि बाँकेका अधिकारकर्मी, नागरिक समाज, पत्रकारका संघ संगठनले बिरोध गर्दै जोशीलाई कारवाहीको माग गरेका थिए । प्रजिअ जोशीलाई कारवाही हुनुपर्ने मागपत्र गृहमन्त्रालयसमक्ष पेश गरेका थिए ।
आइतबार जारी सरुवामा गृहमन्त्रीस्तरीय निर्णय अनुसार, मन्त्रालय मातहतका दुई विभागका महानिर्देशकसहित जोशीको पनि सरुवा भएको उल्लेख छ । जोशीको सरुवासँगै अब बाँकेमा दिल कुमार तामाङ आउनु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत तामाङको बाँकेको प्रजिअका रुपमा सरुवा भएको छ ।





