
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले युवा लक्षित तीन वटा तालिम एक साथ बिहिवारदेखि सुरु गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले बिहिवार तीन महिने मोवाइल मर्मत, सिलाईकटाई तथा ब्युटीसियन तालिमको उद्घाटन गर्नुभयो ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख डा. राणाले कोभिड– १९ पछि स्वदेश फर्केका युवायुवती र यही बसेकालाई लक्षित गरी तालिम प्रदान गरी रोजगार दिने योजना अघि सारेको बताउनुभयो ।
उपप्रमुख उमा थापा मगरले तालिम सिकेका सहभागीलाई उनीहरुको प्रस्तावको आधारमा बिना धितो कम ब्याजदरमा ऋण उपलब्ध गराउन सकिने बताउनुभयो । तालिममा दत्तचित्त भएर ध्यान दिन आग्रह गर्दै उहाँले राम्रो गर्नेलाई अनुदान समेत दिन सकिने बताउनुभयो ।
नगरभित्रका जनशक्तिलाई तालिम प्रदान गरी स्वरोजगार बनाउन निरन्तर यसखालका तालिम सञ्चालन हुने उहाँको भनाई छ । उपमहागरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार तीन वटै तालिममा नगरका २३ वटै वडाबाट १÷१ जनाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटनमा वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ११ का अध्यक्ष उज्जवलसिंह राठौर, कार्यपालिका सदस्य बशन्ता जोशी, इन्दिरा शाही, सीमा कशौधन, नगर स्तरीय घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष रचना श्रेष्ठ, नारी विकास केन्द्रका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।





