
नेपालगञ्ज । जिल्ला कारागार नेपालगञ्जमा रहेका कैदीबन्दीलाई न्यानो कम्बल बितरण गरिएको छ । जेलभित्रको बसाई व्यवस्थापनका लागि रेडक्रस बाँकेको सहयोगमा ६० जना कैदीबन्दीलाई बुधबार कम्बल प्रदान गरिएको हो ।
जिल्ला कारागारको अनुरोध र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सहयोग भएको जिल्ला आपतकालिन कार्य सँचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।
कारागार प्रमुख रामकुमार सोनखरको माग अनुसार नै सहयोग गरिएको छ । बुधबार कैदीबन्दीलाई जेलरसहितको टिमले कम्बल बितरण गरेको छ । साथै बुधबार नै प्रसुतिका लागि आउने महिलालाई सहयोग पर्याउन उदयपुर स्वास्थ्यचौकीलाई ५ थान कम्बल सहयोग गरिएको छ । उदयपुर स्वास्थ्य चौकीमा डुडुवाका बिभिन्न वडाबाट समेत प्रसुतिका लागि महिलाहरु पुग्ने गरेका छन् ।





