
नेपालगन्ज । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालगन्जका विभिन्न विद्यालयमा अध्ययनरत १५ जना विपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
नेपालगन्जमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर संस्थाका अध्यक्ष प्रदिप चौधरीको अध्यक्षमा नेपालगन्जका विभिन्न विद्यालयमा अध्ययनरत निम्न आयस्तर भएको परिवारका १५ जना बालबालिकालाई उक्त शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
सहकारीका प्रबन्धक टिकाराम थारुका अनुसार संस्थाको बाल अनुदान कोषमा छुट्टयाईको रकमले शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपालगन्जमा रहेको सामाजिक विकास मंच (एसडिएफ) र सेफ द चिल्ड्रेनको साझेदारीमा संचालित घुम्ती कोषको अतिरिक्त आम्दानीबाट बाल अनुदान कोष निर्माण गरिएको प्रबन्धक थारुले बताउनुभयो ।
शैक्षिक सामाग्री पाउनेहरुमा सरस्वती माध्यमिक विद्यालय, बागेश्वरी आधारभूत विद्यालय, मंगल प्रसाद माध्यमिक विद्यालय, श्री आधारभूत विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, महाराजा माध्यमिक विद्यालय र कन्या माध्यमिक विद्यालयका विद्यार्थीहरु छन् । शैक्षिक सामाग्रीहरुमा स्टेशनरी, झोला, जुत्ता र ट्र्याक सुट रहेको छ ।
कार्यक्रममा सेफ द चिल्ड्रेनकी फुल कुमारी चौधरी, मंचका कार्यक्रम संयोजक महेन्द्र चन्द, बृजेश ठाकुर, सहकारीको संचालक सदस्य उमा गौचन, बरिष्ठ सल्लाहकार प्रेम बहादुर शाहलगायत अन्य पदाधिकारीहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।





