एक विद्यालयमा तीन प्रधानाध्यापक !

नेपालगन्ज । एउटा विद्यालयमा कति जना प्रधानाध्यापक हुन्छन त ? एक जना । तर बाँकेको एउटा स्थानीय तहमा रहेको एक माध्यमिक विद्यालयमा एक बढी प्रधानाध्यापक रहेको दावी गरेपछि विवाद उत्पन्न भएको छ । जिल्लाको नरैनापर गाउँपालिका वडा नम्बर ६ मा रहेको जमुनी माध्यमिक विद्यालयमा एक जना पनि हैन दुई जना पनि हैन, तीन जनाले प्रधानाध्यापक भएको दाबी गरेपछि विवाद उत्कृर्षमा पुगेको छ ।

बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिका उक्त सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि विवाद बढ्दै गएको हो । तीन जनाले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि पठनपाठन अवरुद्धसमेत हुन थालेको छ । यस्तो खालको समस्या आएपछि गाउँपालिकाले चासो दिएको छ ।

पालिकाका अनुसार नरैनापुर वडा नम्बर ६ को जमुनी माध्यमिक विद्यालयमा विगत केही महिनादेखि सो विद्यालयका तीन शिक्षक अम्बरलाल यादव, अफसर अली मुकेरी र सन्देश शर्माले आफूलाई प्रधानाध्यापक घोषित गरी काम गर्न खोजेपछि विद्यालयको पठनपाठन अवरुद्ध भई दैनिकजसो विवाद हुने गरेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले तीनै जनाले आफूलाई वैधानिक प्रधानाध्यापक बताउँदै विद्यालयको कागजपत्र कब्जा गर्ने प्रयास गर्दा सो विद्यालयको पठनपाठन अवरुद्ध भएको बताउनुभयो । उहाँले विद्यालयको विवाद गाउँपालिकामा पुगेपछि पालिकाले सोबारेमा अध्ययन अनुसन्धान गरेर तत्काल लागु हुनेगरी अम्बरलाल यादवलाई जमुनी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरेको छ ।

यादवको प्रधानाध्यापकमा नियुक्तिसंँगै अफसर अली मुकेरीको काज फिर्ता गरिएको र सन्देश शर्मालाई सोही विद्यालयमै रहेर शिक्षण गर्न निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनुभयो । स्थानीय अभिभावक हरिहर यादवले तीन जनाले प्रधानाध्यापक दाबी गर्दा विद्यालयमा पढाइ रोकिएको र कुर्सी तथा रजिष्टर तानातान हुँदै आएको जनाउँदै बालबालिका विद्यालय जानै छाडेकोे सुनाउनुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्थानीय सरकार गठन हुनुभन्दाअघि पालिकामा रहेका अधिकांश विद्यालयको अवस्था निकै चिन्ताजनक रहेको बताउँदै गत आठ वर्षको अवधिमा सुधारको प्रयास भएका दाबी गर्नुभयो । उहाँले अझैपनि जमुनी माविमा प्रधानाध्यापकको लागि वाद–विवाद भइरहेको बताउनुभयो ।

Previous articleडब्लुडब्लुजेको १८ औं वार्षिकोत्सव : तीन जना सम्मानित, १०बुँदे घाेषणापत्र जारी
Next articleकिसानको धानमा ‘कार्टेलिङ’ बढ्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here