
नेपालगन्ज । किसानले उत्पादन गरेको धानमा कार्टेलिङ बढ्दै गएको छ । सरकारले किसानले उत्पादन गरेको धान खरिद नगर्दा किसान कार्टेलिङको सिकार बन्न बाध्य छन् । सरकारले उचित मूल्यमा धान खरिद गरेको छ । प्रत्येक वर्ष उत्पादित धानको समर्थन मूल्य तोकिन्छ । त्यही समर्थन मूल्य अनुसार सरकारले किसानको धान खरिद गर्ने गर्छ ।
तर सरकारले उत्पादित धान खरिद नगरेको किसान बाध्यतामा कार्टेलिङको शिकार बनिरहेका छन् । उनीहरु संस्तो मूल्यमा धान बेच्न बाध्य हुने गरेका छन् । सरकारले तोकेको मूल्यबिपरित व्यापारी किसानको धान गरिद गर्छन् । किसानको उत्पादित धान खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सबैको धान खरिद गर्न नसक्दा त्यही मौकाको फाईदा व्यापारीले उठाउने गरेका छन् ।
खाद्य व्यवस्थाले हाल किसानको धान खरिद गर्ने कार्य गरिरहेको छ । तर सबै जिल्लाका सबै किसानले खाद्यमा आफ्नो धान बेच्न भने पाउँदैनन् । कतिपय किसान खाद्यको खरिद कार्य नहुँदै व्यापारीलाई आफ्नो धान सस्तोमा बेचिसकेका छन् । समर्थन मूल्य तोकिएको भएपनि सबैले त्यसका कार्यान्वयन नगर्दा किसान मारमा परेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले धानको समर्थन मूल्यमा नै अन्य व्यापारीले समेत धान खरिद गर्नुपर्ने बताउनुभयो । तर हुन सकेको छैन । ‘सरकारले तोकेको समर्थन मूल्य कम्पनीलगायत सबै व्यापारीमा लागू हुनुपर्ने हो,’ प्रमुख लामिछानेले भन्नुभयो, ‘तर कसैले सरकारले तोकेको मूल्यमा धान खरिद नगर्दा किसान मर्कामा परेका छन् ।’ व्यापारीहरुले किसानलाई ठगिरहेका छन् । राज्यले तोकेको नियमभन्दा बाहिर गएर कार्य गर्नु भनेको कानूनतः दण्डनीय हो । व्यापारीले आफूखुशी मूल्यमा धान गरिद गरिरहेका छन् ।
किसानले बाध्य भएर सस्तोमा धान बेच्ने कुरामा अनुगमन गर्ने निकाय मौन बसेको छ । अनुगमन गर्ने निकायको निस्क्रियताकै कारण धानमा व्यापारीको रजगज छ । समर्थन मूल्यमै धान खरिद भए नभएको कुरा अनुगमन गर्ने निकायले अनुगमन गर्नुपर्ने खाद्यका प्रमुख लामिछानेले बताउनुभयो । ‘हामीले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्ने र त्यसबाट धामल बनाएर आवश्यकता भएको जिल्लामा पुर्याउने हो,’ प्रमुख लामिछानेले भन्नुभयो, ‘कसले कतिमा धान खरिद गर्यो भन्ने कुरा आफुहरुको जिम्मेवारीमा छैन, किसानले सस्तोमा धान बेचिरहेका कुरा स्वयंम किसानले बताउँछन् ।’
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपियाँ ३३ पैसा तोकेको छ । धान खरिद गर्ने व्यापारी भने मिलीजुली धानको समर्थन मूल्यलाई चुनौती दिँदै सस्तोमा खरिद गरिरहेका छन् । उनीहरुले दुई हजार पाँच सयदेखि छ सय रुपैया प्रति क्विन्टल धान गरिरहेका छन् । बाँके डुडुवा–२ का किसान सफिक खाँले आफुले व्यापारीलाई दुई हजार पाँच सयमा धान बिक्री गरेको बताउनुभयो । यता व्यापारीले भने खाद्य व्यवस्थालाई तीन हजार एक सयमा धान खरिद गरिरहेको जनाएका छन् ।
दुई हजार एक सय क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट दुई हजार एक सय क्विन्टल धान खरिद गरेको छ । कात्तिक २३ गतेबाट धान खरिद सुरु गरेको कम्पनीले सोमबारसम्म दुई हजार एक सय क्विन्टल धान खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख लामिछानेले बताउनुभयो ।
प्रमुख लामिछानेका अनुसार बाँकेका लागि तोकिएको कोटामा मध्यम धान पाँच हजार क्विन्टल र मोटो धान १५ हजार क्विन्टल खरिद गर्नुपर्नेमा बिक्रीका लागि अधिकांश मध्यम धान नै आइरहेको छ भने मोटो धान निकै कम बिक्रीका लागि किसानले ल्याएका छन् । जिल्लामा मध्यम धान बढी उत्पादन हुने भएकाले मध्यम धान बिक्रीका लागि धेरै आउने गरेको जनाइएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एकजना किसानसँग ४० क्विन्टल मात्रै धान खरिद गरिरहेको छ । यो निर्धारित कोटाप्रति केही किसानले आपत्ति प्रकट गरेका छन् । बाँके नौबस्ताका किसान हरेराम थारुले खाद्यले ४० क्विन्टल मात्र खरिद गरिरहेकाले बाँकी अरु सबै धान सस्तोमै व्यापारीलाई बिक्री गर्नुपर्ने बाध्यता सुनाउनुभयो ।
यस वर्ष जिल्लामा धान उत्पादन विगतको तुलनामा बढी भएकाले खाद्य व्यवस्था कम्पनीले कोटा पनि बढाउनुपर्नेमा झन् गत वर्षभन्दा पनि आधा कोटा निर्धारण गरेर पठाएको जनाउँदै स्थानीय किसानले आक्रोश व्यक्त गरेका छन् । उहाँले बजारमा व्यापारीहरुले सरकारले तोकेको मूल्यभन्दा करिब एक हजार रुपियाँ कम प्रति क्विन्टल धान खरिद गरिरहेकाले किसानलाई निकै समस्या भएको गुनासो गर्नुभयो । यस वर्ष जिल्लामा एक लाख ५६ हजार दुई सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।





