
नेपालगन्ज । नेपालगन्जका युवाहरुले गर्दै आएको उद्यमको संयुक्त अनुगमन गरिएको छ । वडा अध्यक्ष, नेपालगन्ज उपमहानगरपालिका तथा कार्यान्वयन गर्ने संस्थाका प्रतिनिधिहरुले नेपालगन्जमा युवाहरुले गरेको उद्यमको संयुक्त अनुगमन गरिएको हो ।
उद्यम गर्नका लागि ती युवाहरुलाई स्टार्टअप सहयोग गरिएको थियो । उक्त सहयोगमार्फत उनीहरुले थालेको उद्यमको अवस्था के छ भनेर संयुक्त अनुगमन गरिएको हो । नेपालगन्जका विभिन्न वडामा रहेर उद्यम गरेकाहरुको गरिएको अनुगमनबाट उनीहरुलाई जीवन निर्वाह गर्न उक्त उद्यमले सहयोग पुगेको देखिएको छ ।
सानो उद्यम भएपनि सुरुवात भएको र यसललाई बिस्तारै ठुलो बनाउने सोंचका साथ लागिरहेको ती युवाको भनाई थियो । ती युवाहरुले संचालन गरेको उद्यम व्यवसायले पारिवारिकरुपमा पनि मद्दत पुगेको बताए । उद्यम व्यवसायले राम्रो प्रतिफल दिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष मनोज श्रेष्ठ, वडा नम्बर २१ का राजकुमार साहू, उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गोरख बहादुर थापा, स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा कुमारी पुरी, सामाजिक विकास शाखा प्रमुख कृष्ण जोशी, वडा नम्बर ८ का प्रतिनिधि, सामाजिक विकास मंच (एसडिएफ) बाँकेका कार्यक्रम संयोजक महेन्द्र चन्द, अनुगमन तथा मूल्याँकन अधिकृत शान्त बहादुर चौधरी, लेखा प्रमुख निश्चल डाँगी, बरिष्ठ कार्यक्रम अधिकृत बृजेश ठाकुर, कार्यक्रम अधिकृत सुमित्रा चौधरीलगायतको अनुगमनमा सहभागिता रहेको थियो ।
अनुगमन टोलीले संस्थाबाट बर्षरी सहयोग पाएर मंगल माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा, चिया नास्ता पसल संचालन गरेकी अन्जली थारु, कम्प्यूटर कक्षा तथा जीवनउपयोगी सीप लिएका बाँके नेत्रहिन संघमा रहेका बालबालिकाहरु, सुनाइ तथा बोलाइ सम्बन्धी अपांगता भएर पनि साइकल मर्मत पसल संचालन गरेका मनोज वली, कैंची चक्कुमा धार लगाउने फिरोज खाँलगायतले गरेको उद्यमको अनुगमन गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका र सेभ द चिल्ड्रेनका साझेदारीमा एसडिएफ बाँकेले नेपालगन्जमा संचालन गरेको पावर फोर एवाई परियोजनामार्फत युवाहरुलाई उद्यम विकास गर्न सहयोग प्रदान गरिएको छ । संस्थाले उद्यम विकाससाथै गरिब विपन्न तथा असहाय बालबालिकालाई अध्ययनका लागि वर्षरी सहयोग गर्दै आएको छ ।






