जेनेटिक परीक्षणलाई चिकित्सकीय अभ्यासमा समाहित गर्न विशेष कार्यक्रम

नेपालगन्ज । नेशनल पाथ ल्याबले “दैनिक चिकित्सकीय अभ्यासमा जेनेटिक परीक्षणको समायोजन : चुनौती र अवसर-नेपालको प्रिसिजन मेडिसिनको भविष्य निर्माण” शीर्षकमा एक विशेष सिईएमइ कार्यक्रम गरेको छ ।

नेपालमा बढ्दै गएको प्रिसिजन मेडिसिन, आधुनिक उपचार विधि र जेनेटिक परीक्षणको आवश्यकता, चुनौती तथा सम्भावनाबारे स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई अभिमुखीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रममा पहिलो वैज्ञानिक सत्रका वक्ता डा. जीवन अधिकारी (एमबिबिएस, एमडी — पैथोलोजी) रहनुभएकाे थियाे । उहाँले जन्मपूर्व जेनेटिक विकार परीक्षण तथा क्यान्सरको आणविक प्रोफाइलिङ विषयमा प्रस्तुति दिंदै आधुनिक प्रयोगशाला प्रविधिद्वारा क्यान्सर पहिचान, उपचार योजना निर्माण तथा गर्भावस्थामा देखिन सक्ने जेनेटिक समस्याहरूको समयमै निदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयाे ।

दोस्रो वैज्ञानिक सत्रमा डा. सजन थापा (एमबिबिएस, एमडी) ले लक्षित उपचार (Targeted Therapy) र इम्युनोथेरापी : जेनेटिक प्रोफाइलिङमार्फत सही उपचार छनोट विषयमा विस्तृत रूपमा चर्चा गर्नुभयाे । उहाँका अनुसार रोगीको जीनगत संरचनाको आधारमा उपचार छनोट गर्दा उपचारको सफलता दर उल्लेख्य रूपमा बढ्ने र अनावश्यक औषधि तथा खर्च घट्ने सम्भावना रहनेछ ।

नेशनल पाथ ल्याबले यस्ता सिएमई कार्यक्रमहरूले स्वास्थ्य क्षेत्रका विज्ञहरूलाई आधुनिक प्रविधि, अनुसन्धान र उपचारका नयाँ दृष्टिकोणबारे अद्यावधिक जानकारी प्रदान गर्दै नेपालमा प्रिसिजन मेडिसिनको प्रभावकारी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने जनाएको छ ।

Previous articleनेपालगन्जका युवाहरुले गरेको उद्यमको संयुक्त अनुगमन
Next articleडुडुवाकाे उर्ष (कम्मर शाह) मेलामा दर्जनौं चाेरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here