
नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएकाे छ ।
जनताको घरदैलोमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई प्राथमिकता दिँदै उहाँ नेपालगन्ज पमहानगरपालिका वडा नं.२१ बिर्ता पुगेर घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरुको समस्या, सुझाव र अपेक्षा सुन्नुभयाे ।
बिर्ता क्षेत्रका बासिन्दा उम्मेदवार राईलाई स्वागत गर्न पाउँदा उत्साहित देखिएका थिए । बस्ती-बस्तीमा राई पुग्दा युवादेखि वृद्धवृद्धासम्मको सक्रिय सहभागिताले चुनावी माहोल तातेको देखिन थालेकाे छ ।
मतदाताहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न समस्या खुलस्त रुपमा राखेका थिए । उनीहरुले स्थानीयस्तरमा देखिएका चुनौती समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
मतदाताका जिज्ञासा र सुझाव सुन्दै उम्मेदवार राईले आफू जनताको प्रतिनिधिका रुपमा संसदसम्म जनआवाज पु¥याउन प्रतिबद्ध रहेको बताउनुभयाे । “जनताको विश्वास र साथ नै मेरो शक्ति हो । यहाँ उठाइएका समस्या र अपेक्षालाई नीति निर्माण तहसम्म पु¥याउने मेरो मुख्य लक्ष्य हो,” उहाँले भन्नुभयाे ।
घरदैलो अभियानकै क्रममा ९३ वर्षीया एक वृद्ध आमासँगको भेट विशेष भावनात्मक बनेको थियो । वृद्ध आमाले उम्मेदवार राईलाई आशीर्वाद दिँदै, “जानुस्, तपाईंको मेरो शुभकामना छ,” भन्दै शुभेच्छा व्यक्त गर्नुभयाे ।
वृद्धाबाट पाएको आशीर्वादले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उम्मेदवार राईले प्रतिक्रिया दिनुभयाे । यस अभियानले ग्रामीण क्षेत्रसम्म चुनावी गतिविधि फैलिँदै गएको देखिएको छ ।
जसपाका नेता राजन राना मगरका अनुसार ग्रामीण क्षेत्रमा जसपाप्रति जनलहर बढ्दै गएको छ । उहाँले जनताको सक्रिय सहभागिता र उत्साहले पार्टीको पक्षमा सकारात्मक वातावरण सिर्जना भएको दाबी गर्नुभयाे ।





