
नेपालगन्ज । नेपालगन्जमा रहेको मंगल प्रसाद माध्यमिक विद्यालयका विद्यार्थीले प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर क्षेत्रमा सरसफाई गरेका छन् । विद्यालयका विद्यार्थीले बागेश्वरी मन्दिर क्षेत्रमा सबैतिर सरसफाई गरेका हुन् ।
विद्यालयले मङल प्रसाद सरसफाइ अभियान २०८२ अन्तर्गत ‘सफा बागेश्वरी सुन्दर बागेश्वरी’ भन्ने नाराका साथ बागेश्वरी मन्दिर क्षेत्रमा सरसफाई गरिएको विद्यालयका खेल शिक्षक इन्द्रसिंह डाँगीले जानकारी दिनुभयो ।
‘मन्दिर क्षेत्र सधै सफा हुनुपर्छ र यो कुरालाई अभिभावकले पनि बुझ्न जरुरी भएको सन्देश प्रवाह गर्न यो कार्यक्रम गरिएको हो,’ शिक्षक डाँगीले भन्नुभयो, ‘हामीले सबैभन्दा पहिला सबै सार्वजनिक क्षेत्र सफा हुनुपर्छ, मन्दिर जस्तो स्थानलाई झनै सफा राख्नुपर्ने सबैको जिम्मेवारी हो । दुर्भाग्य भन्नुपर्दा मन्दिर क्षेत्र पनि सफा देखिँदैनन् ।’
विद्यार्थीहरुले अभियानअन्तर्गत विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रमहरु गर्दै आएका छन् । बालबालिकाहरुले मन्दिर क्षेत्रको सरसफाई गरेर सर्वसाधारण फोहोर गर्न हुँदैन र यस्तो ठाउँलाई सफा र दुर्घन्धरहित बनाई राख्नुपर्छ भन्ने प्रेरणा पक्कै प्रदान हुने हाम्रो आशा रहेको शिक्षक डाँगीको भनाई छ ।







