
नेपालगन्ज । नेपाली भुमिको सच्चा पहरेदार सीमावर्ती क्षेत्रका जनता भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले बताउनु भएको छ ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर १ का जनतासँग भेटघाट गर्ने क्रममा लुम्बिनी प्रदेश सभापति पुनले नेपाली भुमिको रक्षा गर्ने सीमा क्षेत्रका जनता धन्यवादको पात्र भएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘सीमाक्षेत्रमा बसोबास गर्ने नागरिकलाई म आत्मदेखि नै धन्यवाद दिन चाहन्छु । जय नेपाल भन्न चाहन्छु । तपाईहरु नेपाली भुमिको पहरेद्धार हो । यो भुमीलाई बचाउनु भएको छ ।’ आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले सीमावर्ती क्षेत्रको जनताको समस्यालाई नीतिगत रुपमा समाधान गर्न आफुले पहल गर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो ,‘मेची देखी महाकाली सम्म सीमा क्षेत्रको समस्या छन् । त्यसको समाधान नीतिगत रुपमा राज्यले गर्नुपर्छ । मैले सीमावर्ती क्षेत्रको समस्या समाधानको लागि नीतिगत रुपमा एजेन्डा बनाएर त्यसको दिर्घकालिन समाधानको लागि प्रयास गर्नेछु ।’ बाँके क्षेत्र नम्बर ३ को दक्षिण तर्फको भुभाग नेपाल–भारतको सीमाना पर्छ ।
यहाँका स्थानीयहरुको जमिन बैंकले धितो राख्ने गरेको छैन् । जमिन तर बैंकले धितो राख्दैन । जसका कारण सीमावर्ती क्षेत्रका नेपाली जनताका नागरिकले आर्थिक रुपमा पाउने सुविधाबाट बञ्चित हुनु परिरहेको छ । सीमावर्ती क्षेत्रका जनताहरुमाथि भैरहेको अन्यायलाई समाधान गर्न आफुले पहल गर्ने पुनले प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नु भयो,‘सीमा क्षेत्रका जनताको जमिन बैंकले धितो नै नराख्नु अन्याय हो । मुल्यांकन रकम कम होला तर राख्नै नपाउनु भनेको यहाँको जनतामाथि राज्यले गरेको अन्याय हो ।’ सभापति पुनले बाँके क्षेत्र नम्बर ३ को समग्र विकासका नयाँ एजेन्डासहित आफु मतदाताहरुसँग भेटघाट गरिरहेको बताउनु भयो ।
नेपालको आर्थिक उन्नतीको लागि पनि तराई क्षेत्रको विकास जरुरी रहेको बताउँदैं पुनले क्षेत्र नम्बर ३ लाई आर्थिक विकासको लागि नयाँ एजेन्डा बनाएर काम गर्ने बताउनु भयो ।





