
नेपालगन्ज । जनता समाजबादी पार्टी नेपाल बाँके क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद कमरुद्दिन राई मतदाता भेट्न दैनिकजसो नेपालगन्जका गल्ली-गल्ली पुग्नुहुन्छ । मतदाता भेट्घाट सँगै जनताको पिरमर्का बुझ्न् ।
उहाँ नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर हुँदा आर्थिक अभावमा पढ्न नपाएका बालबालिकाको खोजी गरि विद्यालय भर्ना गर्न सघाउनुभयाे । खान नपाएर भोकाएकाहरुलाई खाद्यन्न दिएर भान्सामा आगो बाल्ने वातावरण मिलाउनुभयाे । गरिव, असहायको दु:खमा मल्हम लगाउन पाउँदा उहाँमा खुसीको सीमा रहन्न ।
आफूसँग भएको चिजबस्तु गरिव, दु:खीलाई दिन पाउँदा आनन्द लाग्ने गरेको उहाँ बताउनुहुन्छ । अहिले उहाँ नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरबाट राजिनामा दिएर संसदीय यात्रामा अगाडि बढ्नुुभएकाे छ ।
उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा नेपालगन्जको मेयर पदमा प्रतिष्पर्धा गर्नुभयाे । निर्वाचनमा उहाँ चौथो हुनुभयाे । भर्खरै स्थापना भएको पार्टी भएकोले उहाँ र उहाँको पार्टीले संगठन विस्तार गर्न सकेको थिएन । तै पनि उहाँले पाँच हजार ४४२ मत ल्याउनुभयाे । मत परिणामलाई लिएर उहाँ निरास हुनुभएन ।
‘नेपालगन्जका मतदाताले दिएको मतले मलाई काम गर्ने हौसला र उर्जा थप्यो,’ उहाँले भन्नुभयाे, ‘निर्वाचन लगत्तै अरु आराम गर्न थाले, आफ्नो ब्यापार ब्यवसायमा फर्किए । जितेकाहरु एसीसहित सुविधा सम्पन्न कार्यालयमा बस्न थाले, तर जनताको मतले मलाई आरामसँग बस्न दिएन र म जनताको घरदैलोमा गइरहेँ ।’
उहाँले आफूलाई नेता भन्दा जनताको सेवक भन्न रुचाउनुहुन्छ । राजनीतिलाई सेवाभावको रुपमा बुझ्नुभएका उहाँ नेता भन्दा रिसाउनुहुन्छ र, जनताको सेवक भन्दा खुसी हुनुहुन्छ । ‘म जनताको नेता होइन सेवक हुँ, नेताभन्दा मलाई नामज्जा लाग्छ, जनताको सेवक भन्दा हर्षले मन विभोर हुन्छ,’ उहाँले भन्नुभयाे ।
समस्यामा परेका जनतालाई आवश्यकता अनुसारको सामान दिन्थे । ‘मैले नेपालगन्जका मात्र नभई लकडाउनले घर जान नपाएका झण्डै दुई हजार विद्यार्थीलाई खाद्यन्न दिएँ,’ उहाँले भन्नुभयाे, ‘अध्ययनका लागि बाहिरबाट आएकाहरुको पीडा देखेर खाद्यन्न नदिइरहन सकेन ।’
पार्टीले उहालाई नै प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उहाँ मतदातामाझ पुग्न व्यस्त हुनुहुन्छ । उहाँले प्रतिनिधिसभा सदस्य पदमा जित्ने आधार समेत तय गरिसक्नु भएको छ । मधेशी जनताको आवाज संसदमा उठाउने उहाँको ठूलो सपना छ । मधेशी र मुस्लिम जनताको मतबाट चुनाव जित्ने, तर आफ्नो स्वार्थमा प्रयोग गर्ने गरेका कारण मधेशी समुदायको अधिकार सुनिश्चित हुन नसकेको उहाँको बुझाई छ ।





