
नेपालगन्ज । बाँकेमा तीन स्थानमा किरियापुत्रीले मतदान गरेका छन् । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र, नेपालगन्ज वडा नम्बर ६ को मतदान केन्द्र र राप्तिसोनारी गाउँपालिकास्थित सम्सेरगन्जको शिव शक्ति माबि पेरानीमा रहेको मतदान केन्द्रमा क्रियापुत्रीले मतदान गरेका छन् ।
नेपालगन्ज–७ क्रियापुत्री सुनिल नरसिंह राणा, नेपालगन्ज ६ मा माधवराम बर्मा र राप्तीसोनारीमा मनबीर कामीले मतदान गर्नुभएको हो । राणा आफ्नो स्वर्गीय ८४ वर्षीया कमल राणाको क्रिया बस्नुभएको छ । उहाँ नेपाली कांग्रेस बाँकेका पूर्व उपसभापतीसमेत हुनुहुन्छ । उहाँले परिवारका सदस्यहरुसहित किरियापुत्रीले उक्त मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
नेपालगन्ज–६ निवासी दिवङ्गत ९६ वर्षिय रामप्यारी कुर्मीका छोरा माधवराम बर्मासहित मातृ शोकमा रहेका उहाँको परिवारका सदस्यसहितका किरियापुत्रीले नेपालगन्ज–७ स्थित हडियाबाबा मठ केन्द्रमा मतदान गरेको मतदान केन्द्र (ख) का सहायक मतदान अधिकृत अल्का मिश्रले जानकारी दिनुभयो ।
यसैगरी जिल्लाको राप्ती सोनारी गाउँपालिकामा सम्सेरगन्जको शिव शक्ति माबि पेरानीमा मनबीरले मतदान गर्नुभएको हो । जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा शान्तिपुर्ण ढङ्गले विहानदेखि मतदान भएको छ । जिल्लाको शान्ति व्यवस्था सुदृढ बनाउन नेपाल प्रहरी, शासस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो ।





