
नेपालगन्ज । सामाजिक विकास मञ्ज (एसडिएफ) बाँकेले अपाङ्गता भएका बालबालिकालाई सहायक सामाग्री वितरण गरेकाे छ ।
सेभ द चिल्ड्रेनकाे साझेदारी तथा नेपालगन्ज उपमहानगरपालिकाकाे समन्वयमा संस्थाले नेपालगन्जका १२ जना बालबालिकालाई सहायक सामग्री प्रदान गरेकाे हाे ।
उपमहानगरपालिका कार्यालयमा आयाेजित कार्यक्रम नगर प्रमुख प्रशान्त विष्ट, उपमहानगर प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, महिला, बालबालिका तथा जेष्ठ नागिरक शाखा प्रमुख पवित्रा कुमारी पुरीले उक्त सामान प्रदान गर्नुभएकाे थियाे ।
नगर प्रमुख विष्टले अपाङ्गता भएका बालबालिकालाई यस्ताे सहायक सामाग्रीले जीवनयापनमा सहजता प्रदान गर्ने बताउनुभयो । उहाँले यस्ता व्यक्तिलाई सबै क्षेत्रले सहज बनाउनुपर्ने जाेड दिनुभयाे ।
मञ्चका संस्थापक अध्यक्ष घनश्याम उपाध्यायकाे अध्यक्षता भएकाे कार्यक्रममार्फत १० जनालाई व्हील चियर, १ जनालाई कम्बाेट चियर र १ जनालाई ट्राईसाईकल प्रदान गरिएको संस्थाका अनुगमन तथा मूल्यांकन अधिकृत शान्त बहादुर चाैधरीले जानकारी दिनुभयाे ।
१ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरकाे सहायक सामाग्री वितरण गरिएको अधिकृत चाैधरीले बताउनुभयाे । कार्यक्रममा अधिकृत शर्मा, कार्यपालिका सदस्य बसन्त कनोजिया, महिला विकास अधिकृत आशा शाही, संस्थाका अधिकृत लगायतको उपस्थिति रहेको थियो ।





