सीमा क्षेत्रमा हुने अवैध गतिबिधिमा कडाई गर्न डिआईजी कुवँरको निर्देशन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ महेन्द्रनगरमा रहेको सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले उत्कृष्ठ कर्मचारी तथा शहिद परिवारलाई सम्मान गरेको छ । गणले आफ्नो १९औं वार्षिकोत्सव मनाउने क्रममा मातहत कार्यरत कर्मचारी तथा शहिद परिवारलाई सम्मान प्रदान गरेको हो ।

नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुवँर कार्यक्रमको प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट बिशेष अतिथि रहनुभएको कार्यक्रममा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने केक काटेर वार्षिकत्सव मनाइएको थियो ।

सो क्रममा बोल्दै रुपन्देहीका बाहिनीपति (डिआईजी) कुवँरले शान्ति सुरक्षा र सुव्यवस्था, सीमा सुरक्षा, विपद व्यवस्थापनमा सशस्त्र प्रहरी बल सधैं उच्च मनोबलका साथ कर्मशील रहने बताउनुभयो । उहाँले मातहतका कर्मचारीलाई सीमा सुरक्षा तथा सीमा क्षेत्रमा हुने अबैध गतिबिधि नियन्त्रणमा सक्रिय हुन निर्देशनसमेत दिनुभएको थियो ।

यस्तै नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले विपदमा सशस्त्र प्रहरीले स्थानीय सरकारसंग गरिरहेको सहकार्य र समन्वयको सराहना गर्नुभयो । नं। ३० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहिद परिवारलाई सम्मान, सांस्कृतिक प्रस्तुति, कदरपत्र, पुरस्कार तथा प्रशंसापत्र वितरण गरिनुका साथै परेवा उडाइएको थियो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाली सेना बज्रदल गण बाँकेका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका उपअनुसन्धान निर्देशक हरिश विष्ट, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, महासंघ उपाध्यक्ष करुणा शाह (माहारानी), विभिन्न गणका गणपति, सशस्त्र प्रहरीका अधिकारी, सहिद परिवार लगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सशस्त्र प्रहरी निरीक्षक धनराज बुढाथोकीले संचालन गर्नुभएको थियो । सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण हेडक्वाटर बागेश्वरी २०६३ चैत २१ गते स्थापना भएको थियो । नम्बर ३० को गण एसपी चन्दले सम्हालेपछि सीमाबाट हुने अवैध कार्यमा कमी आएको छ । उहाँको सक्रियताले अवैध कार्य गर्नेहरु निरुत्साहित भएको प्रहरी कर्मचारी बताउँछन् ।

Previous articleलुम्बिनी प्रदेश मन्त्रिपरिषदद्वारा विभिन्न प्रस्ताव स्वीकृत
Next articleजेनजी प्रदर्शनको मौकामा फरार भएका एक युवा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here