
नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता २०८३ शुक्रबार नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरीमा सम्पन्न भएको छ ।
प्रतियोगितामा नेपालगन्जका १४ वटा विद्यालयका ८२ जना छात्र-छात्राको सहभागिता रहेको थियो । विभिन्न उमेर समूहका छात्र तथा छात्राहरूबीच फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाई विधामा प्रतिस्पर्धा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट रहनुभएकाे थियाे । प्रतियोगिताको सञ्चालन पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले गर्नुभएकाे थियाे ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शिखा एकेडेमीका सुशान्त बोहरा उत्कृष्ट छात्र घोषित हुनुभयाे । उहाँले नगद रु. ५,५०० सहित सम्मान प्राप्त गर्नुभयाे । त्यस्तै स्प्रिङ्डेल एकेडेमीकी नित्याश्री दहित उत्कृष्ट छात्रा घोषित भई नगद रु. ५,५०० सहित सम्मानित हुनुभयो ।
विद्यालयगत समग्र अंकतर्फ शिखा एकेडेमी १२३ अंकका साथ प्रथम, सोफिया रेसिडेन्सियल स्कूल २२ अंकका साथ द्वितीय तथा स्प्रिङ्डेल एकेडेमी १४ अंकका साथ तृतीय स्थान हासिल गर्न सफल भए ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा आयोजक संस्थाका पदाधिकारीहरूले पदक, ट्रफी, प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएकाे थियाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रशान्त बिष्टले पौडी खेल स्वास्थ्य, अनुशासन र जीवनरक्षासँग प्रत्यक्ष सम्बन्धित खेल भएको उल्लेख गर्दै विद्यालयस्तरबाट खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयाे ।
उहाँले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा पहिचान गर्न तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुुभयाे । आगामी दिनमा नेपालगन्ज उपमहानगरपालिकाले खेलकुद विकासका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयाे ।
कार्यक्रमका अध्यक्ष तथा पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठले समाजले पूर्व खेलाडीहरूको अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयाे । उहाँले प्रतियोगितामा विद्यालयहरूको उत्साहजनक सहभागिता देखिएको भन्दै आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित बनाइने जानकारी दिनुभयाे ।
समाजका सल्लाहकार अजित कुमार शर्माले पौडी खेलको महत्वबारे चर्चा गर्दै बाँके जिल्लामा जलक्रीडाको सम्भावना उच्च रहेको बताउनुभयाे । उहाँले विद्यालयस्तरमै खेलाडी उत्पादन गर्न सके प्रदेश तथा राष्ट्रिय स्तरमा बाँकेको प्रतिनिधित्व अझ सशक्त बन्ने धारणा व्यक्त गर्नुभयाे ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमा पौडी खेलप्रति आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याएको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपालगन्ज उपमहानगरपालिका, सहभागी विद्यालय, प्रशिक्षक, अभिभावक तथा स्वयंसेवकप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।
खेलाडीगत पदक विवरण
आध्यान भण्डारी (शिखा एकेडेमी)- १ स्वर्ण, १ रजत र १ काँस्य
सुमिंक वाग्ले (शिखा एकेडेमी) – ३ स्वर्ण, १ रजत
काफिया चलाउने (शिखा एकेडेमी) – २ स्वर्ण
अर्पित राना (शिखा एकेडेमी) – २ स्वर्ण, १ काँस्य
सुशान्त बोहरा ( शिखा एकेडेमी )- ४ स्वर्ण
युवान श्रेष्ठ (शिखा एकेडेमी) – १ स्वर्ण, २ रजत, १ कांस्य
निर्देश बोहरा (शिखा एकेडेमी) – १ स्वर्ण , २ रजत, १ कांस्य
प्रत्युष जोशी (जीवन ज्योति) – २ रजत, २ कांस्य
इभान्सु भट्टराई (शिखा एकेडेमी) – २ कांस्य, २ रजत
सम्यक गैरे (सोफिया रेसिडेन्सियल) – २ रजत, २ कांस्य
दृष्टि बुढा मगर (सोफिया रेसिडेन्सियल)- १ स्वर्ण, १ रजत
कृतिका वाग्ले (शिखा एकेडेमी ) – १ रजत, २ काँस्य
ईभा भट्टराई (शिखा एकेडेमी) -१ स्वर्ण, २ रजत
अनोरा चौधरी (बाल्मिकी इन्टरनेशनल) – १ स्वर्ण, १ रजत, १ कांस्य
श्रीया बोहरा (सोफिया रेसिडेन्सियल) – १ रजत
केरिशा बुढाथोकी (सनबिम) – १ कांस्य
केशव बीके (सनबिम) – १ स्वर्ण
दीप श्रेष्ठ (आर्मी) – १ रजत
रेश्मन चौधरी (एनपी मोडल) – १ कांस्य
बसन्त थारु (एनपी मोडल) – १ स्वर्ण
ललित गिरी (बाल विद्या सेकेन्डरी) – १ रजत
आयुष सिंह ठकुरी (एनपी मोडल) – १ कांस्य
जिज्ञासा भुषाल (वेस्ट जोन) – १ स्वर्ण
सम्स्थिता गिरी (मोडर्न पब्लिक) – १ रजत
श्रेयलशी सिंह (मोडर्न पब्लिक) – १ कांस्य
आज्ञा थापा (जे एस सेकण्डरी)- १ स्वर्ण, १ रजत
बिधेयंक खनाल (सोफिया रेसिडेन्सियल) १ काँस्य
समिरा रास्कोटी (बागेश्वरी एकेडेमी )- २ काँस्य






