बुटवलका डीएसपी निशान्त सम्मानित

बुटवल । बुटवल उपमहानगरपालिका क्षेत्रको शान्ति सुरक्षा र अमनचयन कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तव सम्मानित हुनुभएको छ ।

स्वतन्त्र नागरिक समूह र सिमली फाउन्डेसन नेपालको संयुक्त आयोजनामा बुटवल-७, दिपनगरमा आयोजित वृक्षारोपण कार्यक्रममा श्रीवास्तवलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी डीएसपी श्रीवास्तवलाई सिमली फाउन्डेसन नेपालका तर्फबाट दोसल्ला ओढाएर तथा ‘मायाको चिनो’ प्रदान गरी सम्मान गरिएको छ ।

डीएसपी श्रीवास्तवको नेतृत्वमा इलाका प्रहरी कार्यालय बुटवलले पछिल्लो समय सुरक्षा व्यवस्था चुस्त बनाउन विशेष अभियानहरू सञ्चालन गर्दै आएको छ । विशेषगरी रातीको समयमा चर्को आवाज निकालेर सर्वसाधारणलाई सास्ती दिने मोटरसाइकल, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने तथा सडकमा खतरनाक स्टन्ट गर्नेहरूविरुद्ध प्रहरीले ‘साइलेन्ट स्ट्रिट’ अभियानमार्फत कडा निगरानी र नियन्त्रण बढाएको छ ।

यसका साथै बुटवलका विभिन्न सुनचाँदी पसलमा भएका चोरीका घटनामा संलग्न गिरोह तथा अपराधीहरूलाई पक्राउ गर्नसमेत श्रीवास्तवको नेतृत्व सफल भएको छ । सार्वजनिक कार्यक्रम तथा संवेदनशील परिस्थितिहरूमा प्रभावकारी र जिम्मेवार ढंगले प्रहरी परिचालन गरी नगरको सुरक्षा मजबुत बनाएको भन्दै नागरिक स्तरबाट उहाँको कार्यसम्पादनको उच्च कदर गरिएको हो ।

Previous articleगुणस्तरीय विकासमा प्रदेश सरकारको जोड : मन्त्री खत्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here