
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा साइरन प्रणालीमार्फत विपद् पूर्व सूचना प्रणाली सुदृढीकरण तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ।
ठाकुरबाबा नगरपालिका, बी-ग्रुप र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजित उक्त कार्यशालामा ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखहरू, वडा सचिवहरू तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यशालामा साइरन प्रणालीको प्रभावकारी सञ्चालन, विपद् पूर्वसूचना प्रवाह, तथ्याङ्क व्यवस्थापन, सम्भावित जोखिमको पहिचान तथा विपद्का समयमा समुदायलाई समयमै सूचना उपलब्ध गराउने विषयमा छलफल गरिएको थियो ।

बाढी लगायतका प्राकृतिक विपद्का समयमा स्थानीय समुदायलाई समयमै पूर्व सूचना पुर्याउन, सम्भावित जोखिम न्यूनीकरण गर्न तथा मानवीय र भौतिक क्षति कम गर्न साइरन प्रणालीको प्रभावकारी सञ्चालन आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।
कार्यशालाले स्थानीय तह, सुरक्षा निकाय, समुदाय तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै विपद् पूर्व तयारी तथा प्रतिकार्य क्षमतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साइरन प्रणाली र व्यवस्थित तथ्याङ्क व्यवस्थापनको प्रभावकारी प्रयोगबाट ठाकुरबाबा नगरपालिकामा विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना सम्प्रेषण तथा समुदायको सुरक्षा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।






