जेष्ठ नागरिकका लागि खजुरामा निःशुल्क आँखा शिविर

खजुरा । खजुरा गाउँपालिकामा जनतासंग स्थानीय सरकार कार्यक्रम सञ्चालनमा आएको छ । जनताका समस्यासंग हातेमालो गर्ने र तत्काल समाधान हुने समस्या हल गर्ने उद्देश्यले यो कार्यक्रम चालु आर्थिक बर्षदेखि सञ्चालनमा आएको हो ।

उक्त कार्यक्रम अन्तरगत सोमवारदेखि जेष्ठ नागरिकलाई निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याईएको छ । भिजन आँखा अस्पताल नेपालगन्जको सहकार्यमा वडा नम्बर १ देखि ८ सम्म यो कार्यक्रम सम्पन्न गरिने छ । शिविरमा सामाजिक सुरक्षा भत्तामा सहभागी जेष्ठ नागरिकलाई निःशुल्क चेक जाँच, औषधि बितरण र करिब एकसय जनाको निःशुल्क अप्रेशन गरिने जनाईएको छ ।

वडा नं.१ मा सञ्चालित शिविरको शुभारम्भ कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनताका प्रत्यक्ष गुणासो सुन्ने र समस्या समाधान गर्न कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो । उहाँले समस्याको अवस्था हेरि तत्काल समाधान हुने खालका समस्यालाई हल गर्ने र समय लाग्ने खालका समस्याको आगामी नीति कार्यक्रम र बजेटमा लगिने बताउनुभयो ।

खजुरा गाउँपालिका सामाजिक बिकास संयोजक फत्तेकुमारी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, भिजन आँखा अस्पतालका प्रबन्ध निर्देशक बाबुतरुण गौतम, वडा नं.१ का स्वास्थ्य प्रमुख दीपक ढकाल, स्थानीय मगनसिंह थापाले यस्ता कार्यक्रमले जनता लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा नं १ का वडा अध्यक्ष सुमन मल्ल, वडा नं. २ का अध्यक्ष देवीलाल खनाल, खजुरा गाउँपालिका लेखा अधिकृत प्रदिप सुनार लगायतको सहभागिता थियो ।

Previous articleजसपा बाँकेले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला
Next articleस्व.कोईरालाकाे जीवन पद्धति अनुसरण गर्नुपर्छ : कांग्रेसी नेता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here