
नेपालगञ्ज । कोभिड-१९ खोप अभियानको दोस्रो चरण अन्तर्गत् फागुन २ गतेदेखि बाँकेमा समेत खोप लगाउने कार्य शुरु हुने भएको छ । जिल्लामा नेपालगञ्जसिथत भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रहेको खोप केन्द्रबाट फागुन २ गतेबाट खोप लगाइने भएको हो।
दोस्रो चरणमा निजामति कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, बैंक तथा वित्तिय संस्थाका कर्मचारी र जनप्रतिनिधिहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यस चरणमा बाँकेका २ सय ८० जना पत्रकारहरुलाई समेत खोप लगाइनेछ ।
फागुन २ गते १ सय ४० र ३ गते १ सय ४० जना पत्रकारलाई खोप लगाइने जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । जिल्लामा दोस्रो चरणमा जम्मा ५ हजार ५ सय ८६ जनालाई खोप लगाइनेछ ।





