
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्रका ६ वटा युवा क्लब तथा ७ वटा बिद्यालयमा रहेका बाल क्लबलाई खेलकुद सामाग्री प्रदान गरिएको छ । नेपालगञ्जस्थित सामाजिक बिकास मञ्च (एसडिएफ) बाँकेले आफ्नो परियोजना कार्यक्षेत्रभित्रका युवा क्लब तथा बिद्यालयस्तरीय बाल क्लबलाई शुक्रबार खेलकुद सामाग्री प्रदान गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वटा नं ८ मा रहेको महेन्द्र युवा सूचना केन्द्रमा एक कार्यक्रमको आयोजना गरी १३ वटा क्लबलाई नेपालगञ्जकी उपमेयर उमा थापाले सामाग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै उपमेयर थापाले स्वस्थ्य रहन खेलकुदको अहंम भूमिका रहेको भन्दै बौद्धिक ज्ञान आर्जनमा पनि याुवाहरुको सक्रियता बढाउन आग्रह गर्नुभयो ।
मञ्चले एक लाख ३० हजार बराबरको सामाग्री प्रदान गरेको छ । प्रत्येक क्लबलाई दश हजार २३ रुपैया दश पैसा बराबर भलिबल २ वटा, फुटबल २ वटा, स्किपिङ्ग २ वटा, क्यारबोर्ड १ वटा, लुडो २ सेट, चेस, २ सेट, व्याटमिन्टन १ सेट, कर्क १ सेट र रजिष्टर २ वटा प्रदान गरिएको छ । सेफ द चिल्ड्रेनको सहयोग तथा उपमहानगरपालिकाको समन्वय सहकार्यमा मञ्चद्धारा संचालित युवा शसक्तिकरण बुलगारी परियोजनामार्फत नेपालगञ्जको फुल्टेक्रा, सरस्वती, मंगल प्रसाद, महेन्द्र, नारायण, युद्ध संस्कृत र धम्बोझी माबिमा रहेका बाल क्लब तथा नेपालगञ्ज वडा नं २, ६, ८, १२, १३ र २१ मा रहेका युवा क्लबहरुलाई खेलकुदमार्फत सक्रियता बढाउन र शारीरीक बिकासमा मद्दत पुर्याउने उद्देश्यले सहयोग गरिएको मञ्चका शिक्षा अधिकृत बृजेश ठाकुरले बताउनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा ८ नम्बर वडाका वडा अध्यक्ष सुरेन्द्र गुप्ता, सदस्य रजनिश बाजपेयी, मञ्चका संस्थापक अध्यक्ष एवं बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, सेफ द चिल्ड्रेनकी परियोजना अधिकृत फुल कुमारी चौधरी, मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठ, जिवीकोपार्जन अधिकृत सहजराम यादव र बिद्यालयका शिक्षकको उपस्थिति रहेको थियो । मञ्चले नेपालगञ्जमा सन २०१६ देखि नै जिवीकोपार्जन, आयआर्जन, स्वरोजगार, उद्यम बिकास र शिक्षाको स्तरलाई उकास्न बिभिन्न प्रकारको कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।





