
नेपालगञ्ज । बाँकेमा कोरोना बिरुद्धको दोस्रो चरणको खोप अभियानमा ९५ प्रतिशतले खोप लगाएका छन् । फागुन २ गतेबाट शुरु भएको दोस्रो चरणको अभियानमा ९५ दशमलव १६ प्रतिशतले खोप लगाएका हुन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार लक्ष्यको केही कमले मात्रै खोप लगाउन छुटेका छन् । दोस्रो चरणमा सबैभन्दा कम पत्रकार, न्याय सेवा समूहका कर्मचारी र जनप्रतिनिधीले खोप लगाएका छन् ।
खोप लगाउनेहरुमा जनप्रतिनिधीहरु १ सय ५३ जना, स्थानीय तहका कर्मचारीहरु ५ सय ३२ जना, निजामती कर्मचारीहरु ६ सय २८ जना, जनपथ प्रहरीहरु ६ सय ५४ जना, शसस्त्र प्रहरीहरु ५ सय ६५ जना, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु ८ सय ८४ जना, प्राधिकरण तथा संस्थानका कर्मचारीहरु ३ सय ३१ जना, न्याय सेवा समूहका कर्मचारीहरु १ सय २३ जना र पत्रकार ८६ जना रहेका छन् । ४ हजार ७ सय ९५ जनाको लक्ष्य रहेकोमा दोस्रो चरणमा ४ हजार ५ सय ६३ जनाले खोप लगाएको फोकल पर्सन वलीले जानकारी दिनुभयो । खोप लगाउनेमा ८ सय ९९ महिला र ३ हजार ४ सय ४६ जना पुरुष रहेका छन् । दोस्रो चरणको खोप लगाउन ११ वटा खोप केन्द्र स्थापना गरिएको थियो ।
यसअघि माघ १४ गतेदेखि २४ गतेसम्म संचालन भएको पहिलो चरणको कोरोना बिरुद्धको खोप अभियानमा ४ हजार ९ सय ६७ जनाले खोप लगाएका थिए । जसमा २ हजार ३ सय ३२ जना महिला र १ हजार ६ सय ३५ जना पुरुष रहेका थिए । पहिलो चरणमा १७ वटा खोप केन्द्र मार्फत ९९ दशमलव २ प्रतिशतले खोप लगाएका थिए ।
यस्तै बर्दिया जिल्लामा दोस्रो चरणमा ९९ सय दशमलव २ प्रतिशतले खोप लगाएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बर्दियाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बर्दियामा ४ हजार ६ सय ३६ जनाले दोस्रो चरणमा खोप लगाएका छन् । जिल्लामा दोस्रो चरणमा अभियानका क्रममा ४ हजार ६ सय ७५ जनालाई खोल लगाउने लक्ष्य लिइएको थियो ।





