
दाङ । दाङमा जिप र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ। अटोमा सवार थप पाँच यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोले उपचारको लागि बाँकेको कोलहपुर रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दाङको शान्तिनगर गाउँपालिका वडा नं.१ पेदीखोलाका अटो चालक ३० वर्षीय रमेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते विकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएकोमा उपचारका क्रममा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका घाइतेमध्ये शान्तिनगर १ की ३० वर्षीया रुपा वली, २ वर्षीया छोरी पुष्पा वली र शान्तिनगर २ की ४१ वर्षीया शारदा केसीलाई थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ। अन्य दुई जना घाइतेको अवस्था भने सामान्य रहेकोले उनीहरूको उपचार भने तुलसीपुरमै भइरहेको छ ।
तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुघेनामा सोमबार दिउँसो ३ बजेतिर आपसमा ठोक्किँदा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। जिप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । setopati





