कोरोनाका कारण पाँच लाख अमेरिकीको मृत्यु, राष्ट्रिय झन्डा पाँच दिन झुकाइने

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या पाँच लाख नाघेको छ।अमेरिकाको सरकारी तथ्यांक अनुसार सोमबारसम्म पाँच लाख ७१ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा मृत्यु भएका सबै अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउने धेरै हुनु हृदयविदारक भएको बताउनुभएको छ । सोमबार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले एउटा राष्ट्रको रूपमा यस्तो कठोर भाग्य आफूहरूले स्वीकार्न नसक्ने बताउनुभयो ।

लामो समयदेखि हामी यो महामारीसँग लडिरहेका छौं तर यो समयलाई हामीले आफूलाई विक्षिप्त भएर केही गर्नै नसक्ने हुन दिनुहुन्न,’ बाइडेनले भन्नुभयो ,‘परिवार, समुदाय र देशलाई विभाजित गर्ने गलत सूचनाको राजनीति हामीले रोक्नुपर्छ। यो लडाइँ हामी सबै एक अमेरिकी नागरिक भएर लड्नुपर्छ ।

सम्बोधनपछि राष्ट्रपति बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस लगायत अधिकारीहरूले मृतकको सम्झनामा मौन धारण गर्नुभएको थियो । बाइडेनले अमेरिकाभरि मौन धारण गर्न आग्रह गर्नुभएको थियो । बाइडेनले कोरोनाबाट ज्यान गुमाएकाहरूको सम्झनामा पाँच दिन राष्ट्रिय झन्डा आधा झुकाउन पनि निर्देशन दिनुभएको छ । संघीय सरकार मातहतका सबै कार्यालय र सैनिक बेसमा अमेरिकी झन्डा झुकाइनेछ ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीले संसारमा अहिलेसम्म २४ लाख ८४ हजार मानिसको मृत्यु भएको छ । तीमध्ये १९ प्रतिशत मानिस अमेरिकाका छन् । विश्व जनसंख्यामा अमेरिकाको हिस्सा ४ प्रतिशत मात्र छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो वर्ष कोरोना भाइरसलाई गम्भीरतापूर्वक नलिएको र एकीकृत योजना नबनाएका कारण धेरै अमेरिकीको ज्यान गएको बताइन्छ।

Previous articleअन्तर्राष्ट्रिय महिला दिवस बारे सरोकारवालासंग छलफल
Next articleजिप र अटो ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here