
नेपालगञ्ज । माध्यमिक तह स्तरीय अनलाइन हाजिरीजवाफ प्रतियोगिता शुक्रबार नेपालगन्जमा सम्पन्न भएकोछ। नेपाल शिक्षक संघ नेपालगन्जको आयोजनामा नेपालगन्जका ११ वटा सामुदायिक विद्यालयहरुको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता भएको हो ।
सहभागी प्रतियोगीहरु कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी रहेका थिए। नेल्टा, बांकेको प्राविधिक सहयोगमा सम्पन्न सो प्रतियोगितामा मंगलप्रसाद माध्यमिक विद्यालयकी आँचल मिश्रा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ ।
महाराजा माध्यमिक विद्यालयका नुरआलाम बागवान द्वितीय र मंगल प्रसाद माध्यमिक विद्यालयकै तृतीय स्थान प्राप्त गर्न सफल हुनुभएको छ । त्यस्तै, महेन्द्र माध्यमिक विद्यालयका योगेश कनौजिया चौथो स्थान प्राप्त गर्न सफल हुनुभयो । विजेताहरुलाई प्रमाणपत्र सहित पुरस्कार दिइएको थियो ।
कार्यक्रममा शिक्षक तालिम केन्द्र बाँकेका प्रमुख माधव शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक महासंघ नेपालगन्ज अध्यक्ष मनोजराजा श्रीवास्तव, नेल्टा बाँकेका होमराज खडका, तर्क खत्री, सन्जिव सिङ्हल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु लगायतको विशेष उपस्थिति रहेको थियो ।
पेशागत सवालको उठानसंगै अतिरिक्त क्रियाकलाप अन्तरगत यस्ता कार्यक्रम गरेर शिक्षक संघ नेपालगन्ज नगरसमितिले रचनात्मक कार्यको थालनी गरेको भन्दै कार्यक्रमका वक्ताहरुले विद्यार्थीहरुको चौतर्फी ज्ञानका लागि उक्त कार्यक्रम उत्प्रेरक बनेकोमा प्रशंसा गरेका थिए । नगर समिति अध्यक्ष कन्चन आचार्यको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।





