सामुदायिक मेलमिलापकर्ता समाजको साधारणसभा सम्पन्न

नेपालगञ्ज । सामुदायिक मेलमिलापकर्ता समाज बाँकेको १० औं वार्षिक साधारणसभा शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ । शनिबार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहको प्रमुख आतिथ्यतामा समाजले १० औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

समाज बाँकेका अध्यक्ष भुमिसरा धितालको अध्यक्षतामा भएको साधारणसभामा बोल्दै गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले मेलमिलापकर्ता समाजले समाजमा घर जोड्ने काम गरिरहेको बताउनुभयो । उहाँले समाजलाई सहि दिशातर्फ डोर्याउने काममा संघसंस्थाको सहयोग अपरिहार्य समेत रहेको बताउनुभयो ।

‘समाजलाई जोड्ने काम सहज छैन, ‘ अध्यक्ष शाहले भन्नुभयो, ‘यदि समाज नै बिचलित हुन्छ भने समाजका हरेक मानिसका अगाडी समस्या आउँछ् । समाजलाई सहज संचालनका लागि मेलमिलापकर्ताको भूमिकाले एक अर्कासंगको सम्बन्ध कायम राख्न मद्दत पुर्याइरहेको छ ।’

मेलमिलापकर्ता समाज नेपालका केन्द्रीय सदस्य कर्ण बहादुर बिष्ट, साधारणसभामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं २२ का वडा अध्यक्ष बिद्याराम बर्मा, जानकी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष बिश्राम कुमार बर्मा, वडा नं ६ वडा अध्यक्ष शुरेस कुमार अहिर, बागेश्वरी असल शासन क्लबका अध्यक्ष रमेश सिटौला लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभामा सचिव सुमित्रा भण्डारीले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन २०७७/२०७८ को लक्ष्य तथा कार्यक्रमको छलफल गर्दै सर्वसम्मत पारित गरेको छ । यस्तै साधारणसभाले समाजको केन्द्रीय ९ औं वार्षिक साधारणसभा तथा ३ औं महाधिवेशनमा सहभागि हुने केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । यही फागुन २८ गते समाजको ९ औं वार्षिक साधारणसभा तथा महाधिवेशन हुने भएको छ ।

उक्त महाधिवेशनका लागि जानकी गाउँपालिकाबाट भूमिसरा धिताल, डुडुवा गाउँपालिकाबाट सूर्यलाल यादव, राप्तीसोनारीबाट लालकुमारी डाँगी, खजुरा गाउँपालिकाबाट जिरा चन्द, कोहलपुर नगरपालिकाबाट सुमित्रा चण्डारी र नेपालगञ्ज उपमहानगरपालिकाको प्रतिनिधित्व हुने गरी मिना बोहरालाई महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । यस्तै नरैनापुर र बैजनाथ गाउँपालिकाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई चयन गर्न बाँकी रहेको जनाइएको छ ।

Previous articleनाटा बाँकेको सभापतिमा अन्सारी चयन
Next articleप्रधानाध्यापकको मृत्युपछि बिद्यार्थी आन्दोलित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here