
नेपालगञ्ज । लागू औषध सम्बन्धित बृहत प्रशिक्षण कार्यक्रम नेपालगञ्जमा गरिएको छ । समुदाय साझेदारी कार्यक्रम अन्तर्गत बिहीबार समुदायका अगुवाहरुबीच बृहत प्रशिक्षण कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगंजको सहकार्यमा नार्कोनन् नेपालको समन्वयमा प्रशिक्षण कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रमलाई नार्कोननका अध्यक्ष पुजा कुँवर प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले लागु औषध पछिल्लो समय बाँकेको ठुलो समस्या भएको बताउनुभयो । उहाँले पश्चिम नेपालको हबका रुपमा रहेको नेपालगञ्ज भारतीय सीमासंग जोडिएको हुनले पनि यो यहाँ लागु औषधको जोखिम बढ्दै गएको बताउनुभयो ।
‘बढ्दो बिकास क्रमसंगै घरपरिवारका बीचमा समय बिताउने कार्य कम हुँदै गउको छ ।’, उपमेयर थापाले भन्नुभयो, ‘अभिभावकको माया, स्नेहा ममता भन्ने कुरा पाउनेमा कुरामा कमी महसुश भएपछि बालबालिकाहरुमा मानसिक तनाव हुने र साथीभाईको संगतले लागु औषधमा फस्ने सम्भावना उच्च रहन्छ ।’
लागु औषधलाई न्युनिकरण गर्ने हो भने अभिभावकले बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपमेयर अञ्जु थारु, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बि.क, नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष घनीकुमारी खत्री लगायत बिभिन्न वडाका वडा अध्यक्षहरु, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा लागू औषध निश्तेज महा-अभियानका ८१ वडाका संयोजकहरु, जिल्ला स्थित रहेका सम्पुर्ण पुर्न स्थापना केन्द्रहरु, आमा समुह, युवा क्लव, बाल क्लव, किशोरी संजालका प्रतिनिधिहरुको समेत सहभागितामा रहेको थियो ।





