
गुलरिया । बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढेपछि बर्दियामा एउटा बाघलाई नियन्त्रणमा लिईएकाे छ ।
दिन दिनै मानिसलाई आक्रमण गर्न थालेसंगै आतंक मच्चिएपछि एउटा बाघलाई बर्दियाको गेरुवा क्षेत्रबाट बुधबार नियन्त्रणमा लिइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र कतरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले जानकारी दिनुभयाे ।
मंगलबार पनि उक्त बाघको आक्रमणमा परि बर्दिया राष्ट्रिय निकुञ्जको जंगलभित्र निउरो टिप्न गएकी ६५ वर्षीया डल्लु राउतको मृत्यु भएको थियो ।
हालसम्म बाघको आक्रमणबाट बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा १० जनाको मृत्यु भइसकेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, सेना र निकुञ्जका कर्मचारीहरुको संयुक्त प्रयासमा उक्त बाघलाई बर्दियाको गेरुवा गाउँपालिका–४ राजीपुरबाट नियन्त्रणमा लिइएको हो ।
बाघलाई नियन्त्रणमा लिन लट्याउने औषधि प्रयोग गरिएको सुवेदीले बताउनुभयाे । नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जभित्र खोरमा राखिएकाे छ ।





