
नेपालगञ्ज । बाँकेमा दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानमा ८१ प्रतिशत सहभागि भएका छन् ।
दोस्रो चरण अन्तर्गत ६५ बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि संचालन भएको अभियानमा कुल २५ हजार ७ सय ८९ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो । ति मध्य २० हजार सात सय ८६ जनाले खोप लगाएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
बाँकेमा पहिलो र दोस्रो गरि हालसम्म ३० हजार ६ सय १९ जनाले खोप लगाएका छन् । अघिल्लो पटकको खोप अभियानमा ९ हजार आठ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । जिल्लामा पछिल्लो खोप अभियानमा दुई हजार एक सय ३८ भायल खोप खर्च भएको फोकल पर्सन ओलीले बताउनुभयो ।
८१ वटा वडामा रहेका स्वास्थ्य चौकी मार्फत कोरोना विरुद्धको खोप दिइएको थियो । बाँकेका आठ वटा स्थानीय तह मध्य सवैभन्दा धेरै बैजनाथ गाउँपालिकाका जेष्ठ नागरिकले सेवा लिएका छन् । बैजनाथका ९२ प्रतिशतले खोप लगाएका छन् । जम्मा ३ हजार १ सय २१ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा २ हजार ८ सय ६९ जनाले खोप लगाएका हुन ।
यस्तै कोहलपुर नगरपालिकाका ८७, राप्तीसोनारी गाउँपालिकाका ८५, जानकी गाउँपालिकाका ८१ र नेपालगन्ज उपमहानगरपालिकाका ६५ बर्ष माथिका ७९ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् ।
बाँकेमा सवैभन्दा कम डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकले खोप लिएका छन् । डुडुवाका ६६ प्रतिशतले मात्र खोप लिएको तथ्यांक छ । कोरोना फोकल पर्सन ओलीका अनुसार, नरैनापुरका ७६ र खजुरा गाउँपालिकाका ७७ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । ‘





