
खजुरा । खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बैदेशिक रोजगारबाट फर्किएका युवाका लागि मागमा आधारित तालिम तथा कार्यक्रमको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । एकाउण्टविलिटी ल्याव र बास नेपालगन्जको आयोजनामा बाँके जिल्लामा सञ्चालित सुरक्षित बैदेशिक रोजगार कार्यक्रम अन्र्तगत सुरक्षित बैदेशिक रोजगार बिषयक कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष कक्षपतिले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
कार्यक्रममा सहभागि युवाहरुलाई अध्यक्ष कक्षपतिले भन्नुभयो, सहकार्य गर्न आउनुस हामि सहयोग गर्न तयार छौं । खजुरा गाँउपालिकाले बेरोजगार युवालाई लक्षित गरि मागमा आधारित शिप मुलक तालिम सञ्चालन गरिरहेको बताउदै तालिम आवश्यक भएमा तत्काल दिन सकिने बताउनुभयो । गाँउपालिकाले कृषि क्षेत्रमा ठुलो परियोजना सञ्चालन गरिरहेको र सो परियोजनामा स्थानीय जनशक्ति परिचालन गर्ने भएकाले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई सो कार्यक्रममा जोडिन उहाँले अनुरोध गर्नुभयो । उद्यम गर्न चाहने युवाका लागि सहुलियत पूर्ण कर्जा, शिप मुलक तालिम र अन्य आवश्यक सामाग्री गाँउपालिकाले सहयोग गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै खजुरा गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतमले खजुरा गाँउपालिकाले युवाहरुलाई दिने अनुदान तथा कार्यक्रमलाई व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सरकारी प्रक्रिया केही लामो हुने भएकाले प्रक्रिय पुरा गरेर सरकारी सहुलियतको भरपुर प्रयोग गर्न युवाहरुलाई अनुरोध गर्नुभयो । बासका संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा निर्देशक हेमराज भट्टले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकास पार्नुभएको थियो । कार्यशाला गोष्ठीमा सुरक्षित बैदेशिक रोजगार र गाँउपालिकाले गरिरहेका कामहरुका बिषयमा केन्द्रीत रही गाँउपालिकाका योजना शाखा प्रमुख दिल बहादुर पौडेलले कार्यपत्र प्रश्तुत गर्नुभएको थियो ।
कार्यशालामा सहभागि युवाहरुले बैदेशिक रोजगारबाट फर्किएपछि आफूहरुसँग सिप र केही पैसा भएपनि प्रक्रियागत कठिनाईका कारण सरकारी अनुदान तथा कार्यक्रमको उपयोग गर्न नसकेको दुखेसो गरेका थिए । गोष्ठीको शुरुवातमा बैदेशिक रोजगारबाट फर्किएका युवाहरु र सरोकारवालाबीच फागुन ८ गते खजुरामा भएको अन्तरक्रिया कार्यक्रममा गरिएका प्रतिबद्धताहरुको समिक्षा गरिएको थियो । कार्यशाला गोष्ठीमा खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पन्दलाल गुर्वाल लगायतको सहभागिता रहेको थियो ।





