२० गतेदेखि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइने, लक्ष्यमा पुग्ने पालिकालाई २५ लाख पुरस्कार !

नेपालगञ्ज। बाँकेमा यस वर्ष साढे पाँच लाख जनालाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाईले रोग निवारणका लागि यस वर्ष यही चैत २० गतेदेखि राष्ट्रियआम औषधी सेवा शुरु हुन लागेको हो ।

यस पटक यो अभियानमा ५ लाख ७६ र ७६ जनालाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिनुभयो ।

आठ वटा स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढि नेपालगञ्ज उपमहानगरपालिकामा एक लाख ६६ हजार ८ सय ८६ जनालाई औषधी खुवाउने र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ४० हजार ८ सय ४३ जनालाई औषधी खुवाउने प्रमुख शाहले बताउनुभयो ।

यस्तै जिल्लाको कोहलपुर नगरपालिकाका ८५ हजार ३ सय ७० जना, राप्ती सोनारी गाउँपालिकाका ७० हजार ८ सय ८४ जना, बैजनाथ गाउँपालिकाका ६४ हजार ५ सय ४८ जना, खजुरा गाउँपालिकाका ५९ हजार ८ सय ६८ जना, जानकी गाउँपालिकाका ४४ हजार १ सय ९९ जना र डुडुवा गाउँपालिकाका ४३ हजार ४ सय ७८ जनालाई औषधी खुवाउने लक्ष्य रहेको छ ।

६ बर्षसम्म नियमित औषधी खुवाउने कार्यक्रम भएपनि बाँकेमा मानिसहरुले औषधी नखाइदिँदा यो अभियान लम्बिएको हो । जिल्लामा यो अभियान ६७ सालदेखि जारी छ । यो ११ औं अभियान हो । यस वर्ष यो अभियानमा ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वंयसेवक खटिने भएका छन् ।

यस पटक सत प्रतिशत औषधी खुवाउने लक्ष्यमा पुग्ने स्थानीय तहलाई २५ लाख रुपैया पुरस्कार स्वरुप प्रदान गरिने जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले घोषणा गर्नुभएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती, सात दिनसम्मकी सुत्केरी, सिकिस्त विरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेका जस्तैः क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, छारेरोगी, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण) भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्न नहुने डा.मदन कोइरालाले बताउनुभयो ।

११ औ पटक यो अभियान संचालन गर्ने चरणमा रहेपनि गत वर्षदेखि यस जिल्लामा औषधी खाने दर बढेको छ । ग्रामीण क्षेत्र भन्दा पनि शहरका मानिसहरुले औषधी खान हिचकिचाउने गरेका छन् ।

Previous articleसालको ३ वटा गोलिया काठ बरामद
Next articleसमाज जागरण साप्ताहिक वार्षिकोत्सव, बाँकेका पहिलो पत्रकार ‘बैद्य’ जी लगायतलाई सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here