
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाले हात्तीपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियानलाई यस वर्ष थप प्रभावकारी बनाउने रणनीति अपनाएको छ । गाउँपालिकाका शतप्रतिशत नागरिकलाई रोगविरुद्धको औषधी सेवनको कार्यलाई प्रभावकारी बनाउन रणनिति अपनाइएको हो । यस वर्ष औषधी सेवनपछि गाउँपालिकाबाट चार वटा छुट्टाछुट्टै अनुगमन समितिले अनुगमन गर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।
उहाँका अनुसार जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी लगायतको अनुगमन टोलीले गाउँपालिकाका कुनैपनि नागरिक औषधी खानबाट नछुटुन र यदि छुटेमा पुनः औषधी सेवन गराइनेछ । गाउँपालिका स्वास्थ्य शाखाद्धारा शुक्रबार आयोजित सञ्चारकर्मीका लागि अभिमुखीकरणमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । डुडुवा गाउँपालिकाका ४४ हजार २१ जनालाई हात्तीपाईले रोगविरुद्धको औषधी खुवाउने लक्ष्य लिइएको छ । त्यसका लागि ६० जना स्वास्थ्यकर्मी र ५९ जना महिला स्वास्थ्य स्वमसेबिका खटिने छन् ।
दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मकी सुत्केरी, सिकिस्त विरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेका जस्तैः क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, छारेरोगी, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधी सेवन गर्न नहुने स्वास्थ्य शाखा प्रमुख बुढाले बताउनुभयो ।
अभिमुखीकरणमा स्वास्थ्य शाखा सहसंयोजक बीरेन्द्र घलेले हात्तीपाइले रोगको लक्षण, असर, समस्या अपनाउनुपर्ने सावधानी औषधी सेवन लगायतका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । बाँकेमा यही चैत २० गतेदेखि हात्तीपाईले रोगविरुद्धको औषधी खुवाइने अभियान सुरु हुँदैछ । बाँकेसहित १२ जिल्लामा आम औषधी सेवन कार्यक्रम संचालन हुँदैछ । यस वर्ष औषधी सेवनका बारेमा सचेतना अभिबृद्धिको कार्यलाई समेत थप प्रभावकारी रुपमा बढाइएको छ ।





