
नेपालगन्ज । नेपालगन्जमा शनिबार उपन्यास ‘मनको उडान’ विमोचन भएको छ । कोरोना महामारीलाई ध्यानमा राख्दै सिमित साहित्यकार र साहित्य पे्रमीहरुको उपस्थितिमाझ सो उपन्यास विमोचित गरिएको हो ।
बिमोचन कार्यक्रममा कृतिको समीक्षक लेक प्रसाद प्याकुरेल र पुष्कर रिजालले बोलेका कुराले उपस्थित सबैको ध्यान तान्यो । विज्ञान सम्बन्धी विरलै मात्र पुस्तकहरु प्रकाशन हुने नेपालमा बाँके निवासी साहित्यकार शशीराम कार्कीले एक फरक र अर्थपूर्ण उपन्यास रचना गरेको दुवै समीक्षकको धारणा थियो ।
प्याकुरेलले उपन्यासमा प्रस्तुत स्वैर कल्पनाका प्रसंग उल्लेख गर्र्दै भन्नुभयोे, ‘नेपाली आख्यान साहित्यमा मनको उडानले नयाँ धारको उजागर गरेको छ ।’ उपन्यास मनको उडान अन्तरिक्ष यात्राको कथामा आधारित छ । नेपाली साहित्यमा विज्ञान कथामा आधारित विषयमा सरुभक्त लगायत औंलामा गन्न सकिने साहित्यकारले मात्रै कलम चलाएका छन् ।
‘मनको उडान’ उपन्यास विज्ञान कथामा पनि अन्तरिक्ष कथामा आधारित छ । जुन विषयमा नेपाली भाषामा झनै कम मात्रै पुस्तकहरु पढ्न पाइन्छ । समीक्षक प्याकुरेलले भन्नुभयोे, ‘यस उपन्यासमा प्रयुक्त नेपाली परिवेश विज्ञान कथा र त्यसमा पनि अन्तरिक्ष कथामा बिलकुलै नयाँ प्रयोग हो ।’
समीक्षक रिजालले उपन्यासमा नेपाली पारिवारिक संरचना, राजनीतिक भविष्यको सकारात्मक परिकल्पना पनि उतार्न उपन्यासकार सफल रहेको बतानुभयो । उपन्यासका रचनाकार कार्कीले ‘मनको उडान’ आफ्नो लेखनको पहिलो कृति भएपनि प्रकाशनमा ढिलाई हुँदा चौथो बन्न पुगेको बताउनुभयो ।
४ सय ३५ पृष्ठ लामो उपन्यास ‘मनको उडान’ को अन्तिम पृष्ठमा लेखकले उपन्यासमा नेपालका सात प्रदेशहरु मध्ये चार वटा प्रदेशको नाम र शिशु ग्रहको वयान गर्दा शिरस नामको सबभन्दा ठूलो शिशु ग्रहमा पानीको वाफ रहेको लेखेकोमा सन् २०२० मा नासाले पनि उक्त कुराको वैज्ञानिक पुष्टि गरेको उल्लेख गरेका छन् ।
उपन्यास नेपाली मानक कथाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले विमोचन गर्नुभएको थियो । इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासको मूल्य ५ सय ९९ रुपैयाँ तोकेको छ ।





