नेपालगन्जमा ५० बेडको आईशोलेशन केन्द्र तयार हुँदै

नेपालगन्ज । भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले एक्सन एड नेपालको सहयोगमा नेपालगन्जमा स्थापना हुन लागेको नारी विकास भवनलाई अक्सिजन सहितको २० वटा सिलिण्डर जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र मार्फत नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

बाँके जिल्लामा पछिल्लो समयमा कोभिडका बिरामी बढेर बेड र अक्सिजनको कमी भएकोले सो सहयोग गरिएको बी–ग्रुपका निर्देशक डम्मर सुनारले जानकारी दिनुभयो ।

सो हस्तान्तरण कार्यक्रममा एक्सन एड नेपालका कार्यक्रम अधिकृत सुनिता तिवारीले ५ लाख ६९ हजार ४९० बराबरको २० सेट अक्सिजन सिलिण्डर बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत नेपालगन्जका उपमेयर उमा थापा मगरलाई हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अस्पतालमा अक्सिजन र बेडको अभाव देखिएको कारण अक्सिजन सिलिण्डर सहितको  आईशोलेशन निर्माण गर्न नेपालगन्ज उपमहानगरपालिकालाई सहयोग गर्नु भएकोमा एक्सन एड नेपाल र बी ग्रुपलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

साथै उहाँले यस्तो संकट घडीमा सम्पुर्ण सहयोगी हातहरुलाई सहयोग गर्न पनि आग्रह गर्नु भयो । त्यसै गरि नेपालगन्ज उपमहानगरपालिकाका उममेयर उमा थापा मगरले नेपालगन्जका अक्सिजनको अभाव साथै बेड अभाव भएकोले कोभिड बिरामीहरु मृत्युवरण गर्ने क्रम बढकोले त्यसलाई नियन्त्रण गर्न ५० बेडको आईशोलेशन केन्द्र सन्चालन गरिएको बताउनुभयो ।

साथै उहाँले २ दिन भित्रै सन्चालन गरिने पनि जानकारी गराउनुभयो । सो हस्तान्तरण कार्यक्रममा बाँकेका प्रहरी प्रमुख ओम बहादुर राना, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारी, जिल्ला आपतकालिन सन्चालन केन्द्रका रुपन ज्ञवाली, एक्सन एड नेपालका प्रेम चौधरी , वडा नं.२ का वडा अध्यक्ष सुनिलसिह हमाल लगायतको सहभागिता रहेको थियो ।

Previous articleसार्वजनिक सरोकारको सवालमा अदालतमा मुद्दा दायर
Next articleडाकटर सहित भेरी अस्पतालका ७३ जनामा कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here