
नेपालगन्ज । भेरी अस्पतालका अनुसार फागुन र चैत्रकाे महिनामा परिक्षणको संख्या सरदर समान रहे पनि चैत्रकाे महिनामा RTPCR मा संक्रमण पुष्टि हुने भने करीब ४ गुना बढेको देखिन्छ । चैत महिनाको र बैशाख २० सम्मको परिक्षण ट्रेन्ड तुलना गर्ने हो भने परिक्षण ८९२ बाट ५७३२ (करीब ५ गुना बढ्दा) पोजेटिभको संख्या भने १८९ बाट ३६४९ (१९ गुना बढी) पुगेको देखिन्छ ।
चैत १ देखि बैशाख २० सम्म भेरी अस्पतालबाट नयाँ संक्रमित पहिचान भएको संख्या ३७९० रहेको छ । जबकि बैशाख १२ देखि २० मा मात्र १८४७ पहिचान भएका छन् । यसरी संक्रणको doubling time पछिल्लो दिनमा आएर ८ दिन मात्र रहेको छ । यसले संक्रमण कति तीब्र गतिमा फैलिरहेको छ भन्ने देखाउँछ ।
नयाँ संक्रमित पहिचानको प्रत्येक ७ दिनको औसत उच्च बिन्दु फागुनमा केवल ६.८ % थियो भने चैतमा महिनाको अन्तिम दिन ३४% रहेको थियो । जब कि बैशाख १ देखि त्यो उच्च बिन्दु अस्वाभाविक बढेको देखिन्छ । बैशाख १० मा ८०% मा पुगेको उक्त दर हाल ७१% मा रहेको छ ।
अस्पतालले गरेको परिक्षणमा पोजेटिभिटी % पनि देशको अन्य तथ्याङ्क भन्दा बढी रहेको छ । फागुन १ देखि बैशाख २० को बिचमा अस्पतालले राष्ट्रिय स्तरमा गरिएको कुल परिक्षणको १.६% मात्र टेस्ट गरेको देखिन्छ तर त्यसबाट देशभरिका नयाँ संक्रमितको मध्य ५.३५% पहिचान भएकाे भेरी अस्पतालले जनाएको छ ।
अस्पतालको अंतरंगमा भर्ना हुने क्रम बैशाख यता निकै बढकेो देखिन्छ । निश्चित परिणाम सहित डिस्चार्ज भएका बिरामी (Patients with a definite outcome) को संख्या फागुन महिनाभरमा २६ थियो, चैतमा १०० भने बैशाखको पहिलो २० दिनमै १७१ । मध्यम खाले लक्षण हुने बिरामीको अनुपात फागुनमा ७.७%, चैतमा ३५% थियो भने बैशाखमा यो ५९.७ % रहेको छ ।
भेरी अस्पतालले हालसम्म ६०७७५ RTPCR गरिसकेको छ जसमध्ये पोजेटिभको संख्या ९६६२ रहेको छ । यो संख्या कुल टेस्टको १५.८९ % हुन आउँछ ।





