
दाङमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १३ का करिब ३३ वर्षीय विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयाे ।
दुर्घटनामा परेर तुलसीपुर उपमहानगर ४ घर भई घोराही १७ मा बस्दै आएका ३५ वर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ वर्षीय वसन्त भण्डारी गम्भीर घाइते छन् ।
उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।घोराही–कमेरेचौर सडकखण्ड अन्तर्गत घोराही उपमहानगर ४ ओइरेनीमा बुधबार बिहान ७ बजेतिर रोल्पाको लिवाङबाट दाङको घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कारपियो दुर्घटनामा परेको थियो ।
शव घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको डिएसपी रिजालले बताउनुभयाे । स्कारपियो सडकबाट तल खसेको थियो ।
गए राति दाङ र आसपासका जिल्लामा पानी परेको थियो । बाटो चिप्लो भएर वा खाली बाटोमा तीव्र रूपमा गाडी हाँक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।





