
नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजले कोरोना भाइरसका थप बिरामी भर्ना गर्न नसक्ने जनाएको छ । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दे अक्सिजन अभावमा थप बिरामी भर्ना गरी उपचार गर्न नसक्ने जनाएको हो ।
‘अस्पतालमा लिक्विड अक्सिजन ट्याँक, पि एसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरबट विरामीको उपचार भईरहेको थियो’ प्रवन्ध संचालक शुरेस कुमार कनोडीयाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
‘तर सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याँक सकिएको र भारतवाट आउन नसकेकोले यस शिक्षण अस्पतालले हाल उपचार गराईरहेका बाहेक थप कोरोना विरामी भर्ना गर्न असमर्थ रहेको दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौ ।’
सरकारले भारतबाट लिक्विड अक्सिजन ट्याँक यथासक्य उपलब्ध गराईदिए तुरुन्त तीन सय बेड संचालन गरी कोरोना बिरामी भर्ना थाल्ने अस्पतालले जनाएको छ ।
अक्सिजन आपुर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बैशाख १९ र २१ गते लिखित अनुरोध गरी अक्सिजन अभावमा ठुलो संकट आउने जानकारी गराईएको विज्ञप्ती उल्लेख गरिएको छ ।





