
काठमाडौं । कोभिड-१९ विरुद्धको चिनियाँ खोप लगाएका व्यक्तिहरूलाई २ जेठबाट दोस्रो डोज लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकालाई अब दोस्रो डोज लगाइने भएको हो । यसका लागि २ जेठबाट दोस्रो डोज अभियान थालिने मन्त्रालयले जनाएको छ ।
गत २५ चैतदेखि १५ वैशाखसम्म १८ देखि ५९ वर्षसम्म व्यक्तिलाई भेरोसेलको पहिलो डोज लगाइएको थियो। उनीहरूलाई पालैपालो दोस्रो डोज लगाइनेछ ।
यसका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहमा खोप केन्द्र तोकिएका छन् । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र तोकिएका छन् भने अन्य स्थानीय तहमा पनि कम्तीमा एउटा खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आफूलाई पायक पर्ने केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ।





