
नेपालगञ्ज्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ ले १० बेडको आइसोलेशन सेन्टर तयार गरिएको छ । नेपालगञ्जमा कोरोना हटस्पटका रुपमा रहेको यस वडामा वडाबासीले स्थानीय तहमै आइसोलेशन हुनुपर्ने माग भएपछि वडा कार्यालयले आइसोलेशन सेन्टर तयार गरेको छ ।
यस वडाले आफ्नै वडा कार्यालयलाई आइसोलेशन सेन्टर बनाएको हो । तयार गरिएको आइसोलेशन सेन्टर जेष्ठ १ गतेबाट संचालन हुने वडा अध्यक्ष बुद्धिसागर सुबेदीले जानकारी दिनुभयो । ‘नेपालगञ्ज उपमहानगरपालिकाले संक्रमितको घरमा छुट्टै बस्ने व्यवस्था नभएकाहरुका लागि ह्वाईट हाउसमा राख्ने व्यवस्था मिलाएको छ, ‘ अध्यक्ष सुबेदीले भन्नुभयो, ‘तर हामीले वडाभित्रका संक्रमितले घरमा बस्न डराउने वा छोराछोरीसंग बस्न नहुने भन्नेहरुलाई यहाँ बसाल्छौं ।’
वडावासीले स्थानीय वार्डमै बस्ने व्यवस्था भए राम्रो हुने माग गरेका थिए । यस आइसोलेशनमा संक्रमितहरुलाई योगा गर्ने, आयुर्वेदिक औषधी, तातोपानी र पौष्टिक खानेकुरा उपलब्ध गराईने वडा अध्यक्ष सुबेदीले बताउनुभयो । वडाका जनप्रतिनिधिहरुको सहमतिमा यस आइसोलेशन सेन्टरमा सामान्य लक्षण भएकाहरुलाई मात्रै राखिने छ भने सिकिस्त हुनेहरुलाई अस्पतालमा राख्न सहकार्य गर्ने जनाएको छ ।
‘१० बेड तयार गरिएको वडा कार्यालयमा महिलाहरुका लागि छुट्टै ४ बेड तयार गरिनेछ । पछि आवश्यकता अनुसार डाक्टर, नर्सहरुहको समेत व्यवस्थापन गछौं, ‘ अध्यक्ष सुबेदीले भन्नुभयो, ‘अहिलेका लागि मात्र सामन्वय लक्षण देखिएका र होम आइसोलेशनमा बस्न व्यवस्था नभएकालाई मात्र यहाँ राख्छौं ।’





