
नेपालगञ्ज । कोरोना भाइरस महामारीको दोस्रो लहरको एक महिनामा बाँकेमा गत एक वर्षको भन्दा दोब्बर व्यक्ति संक्रमित भएका छन् । कोरोना भाइरसको पहिलो चरणको संक्रमणको बैशाख १९ देखि २०७७ को चैत्र मसान्तसम्म कुल संक्रमितको दोब्बर संख्यामा दोस्रो लहरको पहिलो महिनामै संक्रमित भएका हुन ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्याँक अनुसार पहिलो चरणको एक वर्षमा जिल्लामा कुल ४ हजार ९ सय ५८ जनामा संक्रमण देखा परेको थियो भने दोस्रो लहरको पहिलो महिनामा मात्र त्यसको दोब्बर १० हजार १ सय १४ जनामा संक्रमण देखा परेको हो ।
पहिलो चरणको लहरमा कुल संक्रमितमध्ये ४ हजार ७ सय २ जना कोरोनालाई जितेका छन् । गत एक वर्षमा जम्मा ५८ जनाको मृत्यु भएको छ । तर दोस्रो लहरको पहिलो महिनामा देखिएका कुल संक्रमितमध्ये ६ हजार ४ सय ७० जनाले कोरोनालाई जितेका छन् भने बैशाख महिनामा मात्रै १ सय ६७ जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार २०७८ को बैशख १ देखि महिनाको अन्तिम दिन ३१ गतेसम्मको तथ्याँक हेर्दा बाँकेको अवस्था नाजुक देखिएको बताउनुभयो । उहाँका अनुसार अझै पनि स्वास्थ्य मापदण्डलाई बेवास्ता गर्ने हो भने जिल्लाको अवस्था झन बिकराल बन्नेछ ।
जिल्लामा पहिलो चरण र दोस्रो चरणको पहिलो महिनासम्म १५ हजार ७२ जनामा कोरोना भाइरसले आक्रमण गरेको छ भने ११ हजार १ सय ७२ जनाले कोरोनालाई जितेका छन् । दोस्रो चरणको पहिलो महिनासम्म जिल्लामा २ सय २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





