
नेपालगञ्ज । नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्य सहायता कक्ष उद्घाटन भएको छ । कोभिड १९ का बिरामीहरुको सहयोगार्थ Nepalese American Chamber Of Commerce-Dallas TX / Texas Nepalese Medical Association को सहयोग, डिसिसिएमसि बाँके र भेरी अस्पतालको समन्वय तथा बास नेपालको व्यवस्थापनमा सो स्वास्थ्य डेस्क सञ्चालन गरिएको हो ।
भेरी अस्पतालको आकस्मिक कक्ष अगाडी स्थापना गरिएको स्वास्थ्य डेस्कको आज एक कार्यक्रमका बिच भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार धिताल र भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले उद्घाटन गर्नुभयो । स्वास्थ्य डेस्कको उद्घाटन भएसँगै आइतबारबाट नै डेस्कबाट सेवा प्रारम्भ गरिएको छ ।
कोभिडका बिरामीहरुलाई सहयोग गर्ने उद्धेश्यले सञ्चालन गरिएको डेस्कबाट कोभिडका बारेमा जानकारीहरु प्रदान गर्ने, बिरामी र अस्पतालका बिचमा आवश्यक समन्वय गर्ने, बिरामिहरुलाई भर्ना तथा अन्य सहयोगमा समन्वय गर्ने, औषधि तथा अन्य चेकजाँचमा समन्वय गर्ने लगायतका कामहरु गर्ने लगायतका सेवा प्रदान गर्नेछ । यसरी सञ्चालन गरिएको डेस्कमा बासले एक जना हेल्थ असिष्टेन्ट र एक जना अनमी गरी दुई जना कर्मचारी नियुक्त गरेको छ ।
स्वास्थ्य डेस्क उद्घाटन कार्यक्रममा भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष धिताल, भेरी अस्पतालका प्रमुख डा. थापा, भेरी अस्पतालका कोभिड फोकल पर्सन डा.संकेत रिसाल, जिल्ला विपत व्यवस्थापन केन्द्रका सुचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवाली, बासका कार्यकारी निर्देशक नमस्कार शाह, बासका निर्वतमान अध्यक्ष मन भण्डारी, महासचिब शिब कुमार बर्मा, निर्देशक हेमराज भट्ट, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाह, पत्रकार रुद्र सुबेदी लगायतको उपस्थिती रहेको थियो ।





