
काठमाडौं । नेपालमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो तीन दिनमा कोरोना संक्रमितको संख्या ओह्रालो लागेको छ भने संक्रमण दर पनि घटेको छ।
पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ६८ जना संक्रमित थपिएका छन्, यो संख्या शनिबारभन्दा कम हो । शनिबार ८ हजार एक सय ६४ जनामा संक्रमण देखिएको थियो। त्यसभन्दा अघि गत शुक्रबार नयाँ संक्रमितको संख्या ८ हजार पाँच सय २० थियो ।
पछिल्लो समय कोरोना संक्रमितहरू निको हुने संख्या बढ्दै छ । आइतबार ६ हजार ६ सय ४८ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार पाँच हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए भने शुक्रबार छ हजार १ सय ६५ कोरोना संक्रमित निको भएका थिए । आइतबार १९ हजार पाँच सय ३९ जनाको पिसिआर परीक्षण र तीन सय ४४ जनाको एन्टिजेन्ट परीक्षण गरिएको थियो ।
शनिबार १८ हजार पाँच सय ४८ परीक्षण गर्दा संक्रमितको संख्या ८ हजार १ सय ६७ थियो ।





