
नेपालगञ्ज । बाँकेमा बिहीबार रातीदेखि भएको वर्षाले नेपालगञ्जका केही स्थानहरु जलमग्न भएका छन् । बिहीबार साँझदेखि शुरु भएको वर्षाले शुक्रबार बिहानसम्म नेपालगञ्जका केही भुभागहरुलाई डुबान गरेको छ ।
नेपालगञ्जका सबै भागहरु अब डुबानमा नपर्ने अर्थात कुनै पनि घरमा पानी नपस्ने अनुमान गरेका यहाँका बासीहरुले एकैदिनको झरीले उही पुरानै अवस्था महसुस गरेका छन् ।
झरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ का टोलहरु तथा वडा नं ८ का टोलहरु जलमग्न भएसंगै केहीको घरमा समेत पानी पसेको छ । यी वडाहरुका नालाहरु समयमा सफाई नहुने भएकाले केही समयको झरीले नै घरमा पानी पस्ने गरेको वडा नं ५ का स्थानीय युवा फैज हैदरको भनाई छ ।
नेपालगञ्ज ५ को बेहना टोल र वडा नं ८ को तरकारी मण्डी, महेन्द्र पार्क, कुरेसी टोलहरुमा पानी जमेको छ । भएका नालाहरुको समयमा सफाई भएको भए हामीले यसरी पटक पटक दःख पाउँदैनथ्यौ, स्थानीय हैदरले भन्नुभयो ।









