
एजेन्सी, जेरूसेलम । ११ दिनपछि इजरायल र गाजापट्टीको आकाशमा रकेट ओहोर दोहोर हुने क्रम रोकिएको छ। इजिप्टको मध्यस्थतामा इजरायल र गाजालाई नियन्त्रणमा लिएको विद्रोही सैन्य समूह हमास शुक्रबारदेखि युद्धविराम गर्न सहमत भएका हुन् ।
युद्धविरामको घोषणा भएपछि ११ दिनदेखि इजरायलका रकेटले त्रसित भएका प्यालेस्टाइनीहरू गाजाको सडकमा निस्किएका थिए । युद्धविराम सुरू हुनै लाग्दैसम्म पनि दुबै तिरबाट रकेट हानाहान भइरहेको थियो ।
दुबै पक्षले युद्धविराम उल्लंघन भए आफू जवाफी प्रतिरोधका लागि तयार रहेको चेतावनी दिएका छन् । युद्धविरामको मध्यस्थता गरेको कायरोले युद्धविराम पालना भएरनभएको हेर्न दुई टोली पठाउने बताएको छ ।
मे १० मा पछिल्लो तनाव सुरू भएको थियो । सन् १९६७ मा अरब(इजरायल युद्ध हुँदा इजरायलले पूर्वी जेरूसेलम आफूले लिएको सम्झनामा मनाइने ुजेरूसेलम डेुमा हजारौं यहुदीहरूले मार्च गर्ने गर्छन् । तनाव कम गर्न प्रहरीले यसपालि मार्चको रूट परिवर्तन गरेको थियो ।
शेख जराहमा रहेका प्यालेस्टाइनीहरूलाई त्यहाँबाट निकालेर उनीहरूका घर यहुदीहरूलाई दिन मिल्छ कि मिल्दैन भन्नेबारेमा अदालतमा विचारधीन मुद्दाको फैसला सरेपछि प्यालेस्टाइनीहरूमा आक्रोश बढेको थियो ।
गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले अल अक्सा मस्जिद र शेख जराहबाट इजरायली सैनिक फिर्ता गर्न अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम सकिएको केही मिनेटमै हमासले इजरायलमाथि रकेट हानेको थियो ।
त्यसपछि इजरायल र गाजाको आकाशमा रकेटको लर्को देखिएको थियो । यो ११ दिनमा गाजामा ६५ बालबालिकासहित २३२ जनाले ज्यान गुमाएका छन् भने १ हजार ९ सयभन्दा बढी घाइते भएका छन् । तीमध्ये १६० जना विद्रोही रहेको इजरायलको दाबी छ ।
इजरायलका अधिकारीहरूले भने हमासको आक्रमणमा परी १२ जनाको मृत्यु भएको र सयौं घाइतेलाई उपचार गरिएको जनाएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजापट्टीको पुनर्निर्माणमा लागि आफ्नो प्रशासनले सघाउने बताउनुभएको छ ।
सुरूदेखि नै दुबै पक्षलाई तनाव कम गर्न भनिरहेका बाइडेनले बिहीबार टेलिभिजन सम्बोधनमार्फत् दुबैतर्फ ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली र उनीहरूका परिवारमा समवेदना व्यक्त गर्नुभएको थियो । उहाँले गाजामा मानवीय सहायता उपलब्ध गराउन र यसको पुनर्निर्माण गर्न अमेरिकाले संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर काम गर्ने बताउनुभयो ।








