
नेपालगन्ज । कोरोना भाईरस (कोभिड–१९) महामारीबाट प्रभावित भएका पत्रकारसँग नेपाल प्रेस युनियन बाँकेले भेटघाट अभियान सुरु गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा मंगलबारबाट भेटघाट उक्त अभियान सुरु गरिएको हो ।
कोरोना भाईरसबाट संक्रमित भएर होमआइसोलेसनमा बसिरहेका, संक्रमण पश्चात निको भई घरमा पूर्ण स्वास्थ्यलाभ गरिरहेका र संक्रमणको जोखिममा रहेका पत्रकार तथा सञ्चारकर्मीलाई उनीहरुका घर र सञ्चार संस्थामै पुगेर भेटघाट गरी स्वास्थ्य सामाग्री (मास्क र स्यानिटाइजर) प्रदान गरिएको युनियन बाँकेका अध्यक्ष ओलीले बताउनुभयो ।
कोरोनाको ‘हटस्पट’ बनेको बाँकेमा फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मी अत्यन्त जोखिममा छन् । ‘बाँकेको स्थिती अझैपनि जटिल छ, परिस्थिती असहज हुँदा हुदैपनि संक्रमित हुनु भएका र संक्रमण पश्चात निको भई पूर्ण स्वास्थ्य लाभ गरिरहनु भएका तथा जोखिममा रहनु भएका सहकर्मी साथी र अग्रजहरुलाई भेटेर उहाँहरुको अवस्था बुझ्न मन लाग्यो,’ ओलीले भन्नुभयो ‘लामो समयको अन्तरालपछि भएको भेटघाटका क्रममा केही गफगाफ गर्न पाइयो, खाली हात भेट्नुभन्दा थोरै भएपनि स्वास्थ्य सामाग्री प्रदान गरियो, यो अभियान जारी नै रहनेछ ।’
भेटघाटका क्रममा अध्यक्ष ओलीले सबैको पूर्णस्वास्थ्य लाभको कामना गरेको र कुनै समस्या परेमा सम्झिन विशेष आग्रह गरेको युनियन बाँकेका सचिव विजय मल्लले बताउनुभयो ।
‘पत्रकारको घर र काम गर्ने सञ्चार संस्थामा पुगेपछि धेरैजना खुसी हुनु भयो, उहाँहरुले धन्यवाद पनि दिनुभयो,’ उहाँले भन्नुभयो । भेटघाटका क्रममा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपले पालना गरिएको मल्लले बताउनुभयो । युनियनले पत्रकार तथा सञ्चारकर्मीलाई भेटघाट गर्ने कार्यलाई निरन्तरता दिने उहाँले सुनाउनुभयो । युनियनले केहीदिन अघि मात्र पत्रकारलाई मास्क र स्यानिटाइजर वितरण गरेको थियो ।
यसैबीच प्रेस युनियन बाँकेले कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले अझैपनि सुरक्षित भएर आफ्नो पेशागत दायित्व निभाउन पत्रकार तथा सञ्चारकर्मीलाई अपिल गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले मंगलबार एक अपिलमार्फत यस्तो आग्रह गर्नुभएको हो ।
‘दोस्रो चरणमा नयाँ भेरियन्टको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारी अझै नियन्त्रणमा आएको छैन, कोरोना महामारीको ‘हटस्पट’ बनेको बाँके जिल्लामा पहिलेको तुलनामा संक्रमण दर केही घट्दो अवस्था भएपनि दैनिकजसो अस्पतालहरुमा संक्रमितको मृत्यु भने भइरहेको छ, अस्पतालमा संक्रमितको चाप थोरै मात्र घटेको हो,’ अपिलमा भनिएको छ, ‘महामारी नियन्त्रण गर्नकै लागि बाँके प्रशासनले निशेधाज्ञाको समय थपिरहेको छ, यस्तो जटिल र कठिन परिस्थितीमा पनि आफु सुरक्षित भएर बाँकेका पत्रकार तथा सञ्चारकर्मीहरुले आफ्नो पेशागत दायित्व निभाईरहेको कुरा अविस्मरणीय छ, तसर्थ कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले अझैपनि सुरक्षित भएर आफ्नो पेशागत दायित्व निभाउनु हुन प्रेस युनियन बाँके शाखा पत्रकार तथा सञ्चारकर्मीमा पुनः हार्दिक अपिल गर्दछ ।’
कोरोना संक्रमणबाट बाँकेमा खबर नेपालगन्ज डटकमका सम्पादक तथा प्रकाशक एवम सञ्चारकर्मी रईस साईको केहीदिन अघि दुःखद निधन भएको थियो । कोरोना संक्रमणबाट अहिलेसम्म जिल्लामा क्रियाशिल २५ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका छन् ।
संक्रमित मध्ये धेरै जना निको भइसकेका छन्, भने केहीले होमआइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहनु भएको छ । ‘कोरोना संक्रमणबाट ज्यान गुमाउनु हुने सञ्चारकर्मी साईप्रति पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, साथै संक्रमित हुनु भएका र निको हुनु भएका सबै पत्रकार तथा सञ्चारकर्मीको पुर्ण स्वास्थ्यलाभको कामना गर्दछु,’ अध्यक्ष ओलीले भन्नुभएको छ ।
कोरोना भाईरस महामारीका कारण पत्रकार तथा सञ्चारकर्मी साथीहरू कतै अप्ठ्यारोमा परेको भए, स्वास्थ्य सम्बन्धी परामर्शका साथै कुनै समस्या वा जटिलता भएको छ, भने सहजताको लागि नेपाल प्रेस युनियन बाँके समन्वयकारी भुमिका खेल्न तयार रहेको उहाँले पुनः स्मरण गराउनुभयो ।
अपिलमा भनिएको छ, ‘यसका लागि जुनसुकै बेला पनि मलाई फोन सम्पर्क गर्न सक्नु हुनेछ ।’ बाँकेका पत्रकार तथा सञ्चारकर्मीका लागि कोरोना संक्रमणको निःशुल्क औषधी उपचारका साथै सहज र निःशुल्क रूपमा कोरोनाको पिसिआर परिक्षणको ब्यवस्था मिलाउन सरकारसँग युनियन बाँकेले जोडदार माग पनि गरेको छ ।





