सञ्चारकर्मी जायसवालले गरे १०९औं पटक रक्तदान

काेहलपुर । बाँकेका अग्रज सञ्चारकर्मी तथा शतक रक्तदाता पवन जायसवालले १०९ औं पटक रक्तदान गर्नुभएको छ ।

विरामीहरूलाई रगतको अभावका कारण अस्पतालकाे शैय्यामा छटपटाउन नपरोस् भन्ने उद्देश्यका साथ निरन्तर समाजसेवामा तल्लिन जायसवालले बाँके जिल्लाको कोहलपुर नगरपालिका-९, हवलदापुरस्थित कौशल्या मेमोरियल हस्पिटलद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई १०९ औं पटक रक्तदान गर्नुभएको हो ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने मूल नारालाई आत्मसात् गर्दै उहाँले लामो समयदेखि कलमका साथ-साथै सामाजिक अभियान र जीवनरक्षाको कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ।

पत्रकारितामार्फत विकृति-विसङ्गतिविरुद्ध आवाज उठाउनुका साथै आपतकालिन अवस्थामा रहेका बिरामीहरूका लागि स्वयं उपस्थित भई रगत उपलब्ध गराउने कार्यमा उहाँ सधैँ अग्रपंक्तिमा रहँदै आउनुभएको छ।

अस्पताल तथा विभिन्न सङ्घ-संस्थाहरूले उहाँको यो नि:स्वार्थ सामाजिक योगदान र मानव सेवाप्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै हार्दिक आभार व्यक्त गरेका छन् ।

सञ्चारकर्मी जायसवालको यो निरन्तरको कार्यले समाजका अन्य युवा तथा नागरिकहरूलाई पनि रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुन ठूलो प्रेरणा मिलेको छ । जायसवाल नेपाल स्वयंंसेवी रक्तदाता समाजका सल्लाहकार समेत हुनुहुन्छ ।

Previous articleनेपालगन्जको एक पसललाई कारबाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here